अस्पतालमा आगो लाग्दा ३७ जनाको मृत्यु


सोल, (एजेन्सी)
दक्षिण कोरियाको एउटा अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान जानुका साथै अन्य ७० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। दक्षिणपूर्वी शहर मिर्याङस्थित सेजोङ अस्पतालको आपत्कालीन कक्षबाट आगो शुरू भएको बताइएको छ।

उक्त आगलागीको समय सो भवन र त्यससँग जोडिएको नर्सिङ होममा करिब २ सय बिरामी रहेका थिए। एक दशकभित्र दक्षिण कोरियामा भएको यो सबैभन्दा भयावह आगलागी हो।

घाइतेमध्ये अधिकाशंको स्थिति निकै चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। अग्नियन्त्रकहरूले अधिकांशको धुवाँमा निस्सासिएर मृत्यु भएको हुनुपर्ने बताएका छन्। मर्नेमा एक जना डाक्टर, एक जना नर्स र एक जना नर्सिङ एसिस्टेन्टको पनि भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

प्रहरीले शुरूमा मर्नेको संख्या ४१ रहेको जनाएको थियो भने अस्पताल सूत्रले कम्तीमा ३७ जना मरेको पुष्टि गरेको छ। मिर्याङ राजधानी सोलदेखि करिब २ सय ७० किमि दक्षिण–पूर्वमा रहेको छ।

दैनिक अखबार जुङ आङ इल्वोका अनुसार सो अस्पतालमा लामो उचार र स्याहार आवश्यक पर्ने वृद्ध बिरामीहरू राखिने गरेको छ। ज्यान जोगाउन सफल जाङ यिओङ जाय नामक बिरामीले आफू दोस्रो तल्लामा बसिरहेका बेला नर्सहरू ‘आगो लाग्यो, भागौं’ भनी चिच्याउँदै आएको बताएका छन्। उनले आफू झ्याल खोलेर अग्निनियन्त्रकहरूको सिंढीबाट तल ओर्लेको बताएका छन्।