नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नै नआउने गरी राम्रोसँग मतदातालाई मतसङ्केत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ।
ललितपुरको गोदावरी आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचन ः मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो। सो अवसरमा प्रमुख आयुक्त डा. यादवले एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन निर्देशन दिनुभयो।
आयोगले एकै वर्षमा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गरी तीनवटा निर्वाचन सबैको सहयोगमा सम्पन्न गरेको बताउँदै उहाँले निर्वाचन सफल बनाउन आयोगका कर्मचारी र सुरक्षाकर्मीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले नेपाल सरकारबाट आचारसंहिताको पूर्ण पालनमा हुने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘निर्वाचन अवधिभर सरुवा, बढुवाका कार्य रोकिन्छन्, दीर्घकालीन प्रभाव पार्ने खालका नयाँ कार्यक्रमको थालनी गर्न रोक लगाइएको छ। ’
प्रशिक्षणमा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले प्रशिक्षणको उद्देश्यमाथि चर्चा गर्नु हुँदै स्थानीय तहका १ हजार ५ सय ६ र प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदातालाई मत सङ्केत गर्न सिकाउनुपर्ने खाँचो औंल्याउनुभयो।
हरेक मतदातालाई राम्रोसँग मत सङ्केत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई पनि सफल बनाउने दृढता व्यक्त गर्नुभयो।
प्रदेश नम्बर ३ को राष्ट्रियसभा सदस्यको निर्वाचन ललितपुरमा हुने छ। एक दिने प्रशिक्षणमा प्रदेश नम्बर ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता रहेको छ।











प्रतिक्रिया