पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र ः ज्ञवाली

0
Shares

नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमालेका सचिव एवम् सांसद प्रदीप ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न नदिन र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ। आज भक्तपुरमा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिको १८औं सम्मेलनमा बोल्दै उहाँले षड्यन्त्रलाई चिर्दै फागुन पहिलो सातासम्म नयाँ सरकार गठन गर्न र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो।

नयाँ सरकार गठन गर्ने ढोका वर्तमान सरकारले बन्द गर्न खोजेको आरोप लगाउँदै उहाँले सरकारले नै संविधानको गलत व्याख्या गर्दै निर्लजता प्रकट गरेको बताउनुभयो। कांग्रेसले वाम गठबन्धन फुटाउन र एमालेलाई सरकारमा जान नदिने षड्यन्त्र गरेको आरोप लगाउँदै उहाँले गलत काममा सरकार लागेको टिप्पणी गर्नुभयो।

जादाजाँदै सरकारले देशको ढुकुटी रित्याउने गरी गरेको बताउँदै उहाँले सरकारले देशको ढुकुटी रित्याउने काम गरेको आरोप लगाउनुभयो। संविधानको अपव्याख्या गरेर नयाँ सरकार निमार्ण हुन नदिएको आरोप लगाउँदै उहाँले सरकार लम्ब्याएर सरकारले अर्थतन्त्रलाई तहसनहस पार्ने कार्य गरेको आरोपसमेत उहाँले लगाउनुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अब बन्ने सरकारले आर्थिक उन्नतीको बाटो खोल्ने बताउँदै अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानुपर्ने अवस्था नआउने दाबी गर्नुभयो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभा सदस्य शशीजंग थापा, अनेरास्ववियुका भक्तपुर इन्चार्ज रजन केसी, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष शैलेश लामा, सचिव समिक बडाललगायतले देशको परिवर्तनमा विद्यार्थीले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो। शनिबारसम्म चल्ने सम्मेलनमा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको र सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिनुभयो।