झापामा प्रहरी र विद्यार्थीबीच झडप



भद्रपुर(ने.स) । जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालय झापा घेराउ गर्दै तालाबन्दी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षाफल ग्रेडिङ प्रणाली पद्धतिबाट लागु गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभुती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक घण्टा शिक्षा कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।

वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरुले ग्रेडिङ प्रणाली विरुद्ध चर्को नाराबाजी गर्दै विहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए ।
शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए । विद्यार्थी समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विद्यार्थीहरुलाई मुल गेट भन्दा बाहिर निकालेका थिए ।

विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए । कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरी कार्यालय झापा लगेर आधा घण्टा पछि छाडेका थिए । राष्ट्रिय परीक्षा बोर्डले गत पुस २९ गते प्रकाशित गरेको कक्षा ११ को नियमित परीक्षाफल बिषयगत ग्रेडका आधारमा सार्वजनिक गरेपछि विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् । कुनै बिषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ । तर, एक बिषय भन्दा बढिमा ‘डी प्लस’ ल्याए अर्को बर्षको परीक्षामा सहभागी हुने पाउने व्यवस्था प्रति विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।

एक बिषय र धेरै बिषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीको परीक्षा एकैपटक गर्नुपर्ने विद्यार्थी मोर्चाको माग रहेको नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सचिव प्रकाश भण्डारीले जानकारी दिए । यसको विरुद्ध गठित संयुक्त विद्यार्थी मोर्चाले बुधवार जिल्ला शिक्षा कार्यालय झापा मार्फत राष्ट्रिय परीक्षा बोर्डलाई लिखित ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्