शेरबहादुर थापा, सुर्खेत । प्रदेश नं ६ मा प्रदेशसभाको बैठक आगामी माघ २१ गते बस्ने करिब करिब निश्चित भएको प्रदेश प्रमुख दुर्गाकेशर खनालले जानकारी दिएका छन् ।
संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।
संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २१ गते पहिलो बैठक बोलाउने तयारी भएको प्रदेश प्रमुख खनालले जानकारी दिए ।
उनले कार्यालयमा कर्मचारी नभएका कारण सूचना जारी गर्न ढिला भएको बताए । तर आज शुक्रबार दिउसो सहसचिव भुवन ढुंगाना आइपुगेका र आगामी आइतबार सर्वदलिय बैठक बोलाई मिति घोषणा गरिने उनको भनाई छ ।
केहि दिनपहिले पनि प्रदेससभाका सदस्यहरुलाई २२ देखि २४ गतेसम्म राष्ट्रिय सभाको चुनाव हुने हुँदा त्यो भन्दा पहिले नै बैठक बोलाउने गरी छलफल गरेको प्रमुख खनालको भनाई थियो । प्रदेश नम्बर ६ मा ४० जना सांसदहरु रहेका छन् ।
प्रतिक्रिया