नारायणागढ–मुग्लिन सडकखण्ड एक महिना दिउँसो बन्द



चितवन । रातको समयमा सवारी रोकेर काम गरिहेको नारायणगढ–मुग्लिन सडकखण्डमा कामको प्रगति हुन नसकेपछि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । शुक्रबार राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले बताए ।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणको रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने भएकाले उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्