राष्ट्रियसभा निर्वाचन तयारी पूरा



सुनील महर्जन, काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारको मनोनयन आज बुधबार दर्ता गर्ने भएका छन्। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि आयोगले आज उम्मेदवार मनोनयन दर्ता गराउने दिन तोकेको हो। उम्मेदवारको मनोनयन दर्ता गराउन सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। राष्ट्रियसभामा भाग लिन २१ दलले आयोगले दल दर्ता गराएका थिए। ती दलले निर्वाचन चिह्नसमेत पाइसकेका छन्।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने व्यवस्था मिलाइएको छ। सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

‘शान्तिपूर्ण र उत्साहजनकरूपमा उम्मेदवारी मनोनयन दर्ताका लागि दलहरूलाई आह्वान गर्दछु, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भन्नुभयो– ‘मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनोस्। कसैको दबाब, डर, त्रास वा धम्कीमा मतदान गर्नुपर्ने अवस्था नरहोस्।’
उम्मेदवारको सूचीमाथि दाबी विरोधका लागि आयोगले माघ ११ र १२ गते तोकेको छ। उम्मेदवारको मनोनयनपत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ। आयोगले त्यसको भोलिपल्ट अर्थात् माघ १४ गते मनोनयका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। आयोगले माघ १५ गतेको समय नाम फिर्ताका लागि छुटइएको छ। त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते गरिनेछ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसँगै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार उम्मेदवारी दर्ता गराउन १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर, दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र अनिवार्य गरिएको छ। त्यसै गरी दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका⁄नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्नेछ।

यसै गरी, अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। त्यसै गरी अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका⁄नगरपालिका तथा नेपाल सरकारको अधिकार प्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्नेछ।

उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको ३५ वर्ष पूरा भएको हुनुपर्ने आयोगले जनाएको छ। यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्नेछ। त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ। आयोगले हिजो मतदान र मतगणनाबारे दलका नेताहरूलाई बोलाएर प्रशिक्षण दिएको थियो।

प्रतिक्रिया दिनुहोस्