राष्ट्रियसभामै अलमलियो कांग्रेस

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि आज बुधबार मनोनयन दर्ता रहेको छ।

संविधानअनुसार प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक ८ जनासहित ५६ जना निर्वाचित हुनेछन्। पार्टीको मतभार निकै कम भएकाले कांग्रेसले प्रत्येक प्रदेशमा ४ जनाको दरले उम्मेदवार उठाउने तयारी गरेको छ।

दिनभर छलफल गरी मंगलबार साँझसम्म प्रदेश नम्बर ४, ५, ६ र ७ को उम्मेदवार नाम टुंग्याए पनि प्रदेश नम्बर १, २ र ३ का लागि उम्मेदवार तय गर्न भने राति अबेरसम्म हम्मेहम्मे परेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट प्रदेश नम्बर ४ मा सुरेन्द्र पाण्डे, वृन्दा राना मगर, जितबहादुर नेपाली र प्रकाश पन्तलाई उम्मेदवार बनाउने तय गरेको थियो।

कांग्रेसले प्रदेश नम्बर ५ का लागि दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, माइकुलाल वाल्मीकि र लुटबहादुर खत्रीलाई उम्मेदवार तय गरेको थियो भने प्रदेश नम्बर ६ बाट विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सीताराम विक र गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाउने तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ। त्यसै गरी प्रदेश नम्बर ७ मा बद्री पाण्डे, तारादेवी भट्ट, छत्रराज जोशी र सेरीराम पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने सन्दर्भमा कांग्रेस नेता डा. महतले मंगलबार साँझ भन्नुभयो– ‘प्रदेश नम्बर १, २ र ३ को उम्मेदवार पनि आज नै टुंगोे लगाउँछौं।’ मतभारअनुसार प्रदेश नम्बर १, २, ३ र ५ बाट कांग्रेसले ४ सिट पाउने सम्भावना छ। यसका लागि कांग्रेसलाई अन्य दलको सहयोग आवश्यक पर्छ।

प्रदेश नम्बर ४ र ७ बाट कांग्रेसले ४ सिटसम्म पाउन सक्ने अनुमान गरिएको छ। प्रदेश नम्बर ६ मा भने कांग्रेसको शुन्य सिट हुने सम्भावना छ। कांग्रेसले राष्ट्रियसभामा मनोनितसमेत गरेर बढीमा १२ सिट ल्याउने अनुमान गरिएको छ। प्रदेश नम्बर २ मा मधेशी दलहरूसँग तालमेल भएमा भने कांग्रेसले केही सिट बढाउने बताइन्छ। तालमेल बारे मनोनयन दर्तालगत्तै छलफल अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन्।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय र जिल्ला सभापतिहरूको सुझावअनुसार प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार बन्ने अवसर नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने नीतिअनुसार नै उम्मेदवारको छनोट भएको कांग्रेस नेता डा. महतले बताउनुभएको छ।
राष्ट्रियसभा निर्वाचनका लागि मतदाता प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष⁄उपाध्यक्ष र नगरपालिकाका प्रमुख⁄उपप्रमुख रहनेछन्। उनीहरूको मतभारको आधारमा राष्ट्रिय सभाका सदस्य निर्वाचित हुनेछन्। कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि मतदातालाई प्रशिक्षण दिन प्रत्येक प्रदेशमा केन्द्रीय सदस्य खटाउने तयारी गरेको छ।
प्रधानमन्त्री समेत रहेका सभापति शेरवहादुर देउवाले सातवटा प्रदेशमा एक⁄एक जना केन्द्रीय सदस्य खटाउन लाग्नुभएको हो।

सभापति देउवाले मतदातालाई प्रशिक्षण दिन प्रदेश नम्बर १ मा डा. डिला संग्रौला, प्रदेश नम्बर २ मा नागिना यादव, प्रदेश नम्बर ३ मा डिना उपाध्याय, प्रदेश नम्बर ४ मा जीवन परियार, प्रदेश नम्बर ५ मा अतहर मुसलमान, प्रदेश नम्बर ६ मा जीवनबहादुर शाही र प्रदेश नम्बर ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रूपमा पठाउने तयारी गर्नुभएको स्रोतको भनाइ छ।

कुल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ। मनोनित तीन जनामा कम्तीमा पनि एक महिला हुनुपर्नेछ। राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको हुनेछ। संविधानअनुसार यो सभाको एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ।

पहिलोपटक राष्ट्रियसभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिएको छ। राष्ट्रियसभा सदस्यहरूको पहिलो पटक पदावधि गणना गर्दा प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि प्रारम्भ भएको मानिनेछ।

माओवादी केन्द्रका १३ जना कोको?
काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि १३ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बसेको तीन शीर्ष नेताको बैठकले उक्त टुंगो लगाएको हो।

बैठकले नेता रामबहादुर थापालाई क्षेत्र नं ३ (खुला) र दीनानाथ शर्मालाई क्षेत्र नं ४ (खुला) उम्मेदवार बनाएको छ। थापा पूर्व रक्षामन्त्री एवम् माओवादी केन्द्रका संगठन विभाग प्रमुख हुनुहुन्छ। पूर्वमन्त्री शर्माले पार्टी प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ। सो प्रदेशमा छनोट गर्न बाँकी एक जना उम्मेदवारको बुधबारसम्म टुंगो लगाउने प्रचण्डको सचिवालयले बताएको छ।

यस्तै प्रदेश नं ३ मा गंगा पराजुली (महिला), प्रदेश नं ४ मा खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कँुंवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपांग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) उम्मेदवार बन्नुहुने भएको छ।साथै प्रदेश नं ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। राष्ट्रियसभा सदस्यमा एमालेले २९ र माओवादी केन्द्रले १४ जना उम्मेदवारमा बाँडफाँड गरेका थिए।