एमाले स्थायी कमिटी बैठक सुरुः राष्ट्रिय सभाका सबै उमेदवारको आजै टुङ्गो



पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा (एमाले) ले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बाँकी ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली आज टुङग्याउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज १२ बजे सुरु भएको स्थायी कमिटी बैठकले प्रदेश नम्बर १, २,३ र ४ को राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको नेकपा एमालेले आज थप १६ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउने भएको हो । माओवादी केन्द्रसँग राष्ट्रियसभा निर्वाचनमा भएको तालमेल अनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ ।

यस अघि हिजो राती सम्पन्न स्थायी कमिटी बैठकले प्रदेश नं ५,६ र ७ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाएको थियो । ७ नम्बर प्रदेशबाट ४ जना , ५ नम्बर प्रदेशबाट ५ जना र ४ नम्बर प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको हो ।

जस अनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया बिष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) ,पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ ।

माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्