पार्टी एकता लम्बियो

0
Shares

 

मधुसूदन रायमाझी, काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउने विषयमा अझै सहमति जुट्न नसक्दा पार्टी एकता लम्बिने भएको छ। पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन।
ओली र प्रचण्डबीच पटक–पटक घण्टौं छलफल भए पनि पार्टी एकताको खाका तयार हुन सकेको छैन। दुई अध्यक्षबीच पद बाँडफाँडको बारेमा कुरा मिल्न नसक्दा एकता प्रक्रियामा जटिलता देखिएको छ। पार्टी एकताको प्रक्रियालाई ठोस रूप दिन आइतबार ओली निवास बालकोटमा बसेको एकता संयोजक समितिको बैठकमा पनि सहमति जुट्न सकेन।
पार्टी एकता गर्दा एकीकृत पार्टीको केन्द्रदेखि वडासम्म संगठनात्मक संरचना कस्तो हुने भन्ने विषयमा छलफल भए पनि मोडालिटीकै बारेमा नेताहरूबीच कुरा मिल्न सकेको छैन। बैठकमा सहभागी एक नेताका अनुसार दुवै अध्यक्ष कार्यकारी अध्यक्ष रहने, ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन। पद बाँडफाँडको विषयमा ओली र प्रचण्डबीच पुनः छलफल हुने बताइको छ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कार्यदलले प्रस्तुत गरेको सिट बाँडफाँडको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय गरेको छ। दुई पार्टीका शीर्ष नेता सम्मिलित कार्यदलले गत माघ ३ गते राष्ट्रिय सभाका लागि संख्यासहितको सिट बाँडफाँड गरेको थियो। जसअनुसार राष्ट्रिय सभाको ४३ सिटमध्ये एमालेले २९ जना र माओवादी केन्द्रले १४ जना उम्मेदवार राष्ट्रिय सभामा उठाउने सहमति भएको थियो। बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कार्यदलले गरेको सहमतिलाई बैठकले अनुमोदन गरेको बताउनुभयो।

आइतबारको एकता संयोजक समितिको बैठकले पार्टी एकताका लागि सांगठनिक र सैद्धान्तिक विषयको टुंगो लगाउन दुई वटा कार्यदल बनाउने एजेन्डा भए पनि सहमति जुट्न नसक्दा सो विषय टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए।

बैठकले अब बन्ने वाम गठबन्धनको सरकारका लागि विकास र सुशासनको कार्ययोजनाहरू तय गर्न एमाले नेता वामदेव गौतमको नेतृत्वमा एउटा समिति बनाउने पनि निर्णय गरेको छ। समितिमा गिरिराजमणि पोखेरल, वर्षमान पुन, भीम रावल, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेका छन्। पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन ओली र प्रचण्डले थप छलफल गर्ने भएका छन्। बैठकले मुख्यमन्त्री र सभामुखको बाँँडफाँडबारे सहमति गर्न कार्यदललाई जिम्मा दिने भएको छ। वाम गठबन्धनले जित्ने पक्का रहेको ७ मध्ये ६ वटा प्रदेशमध्ये ४ वटामा मुख्यमन्त्री एमालेले र २ वटामा माओवादी केन्द्रले लिने गरी सहमति जुटेको बताइएको छ।

बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको सहभागिता रहेको थियो।