क्षमताअनुसार विद्युत् उत्पादन भएन

0
Shares

दैलेख, (नेस)
नौमुले गाउँपालिकाको द्वारी खोलामा सञ्चालित द्वारीखोला जलविद्युत् आयोजनामा उत्पादन क्षमता अनुुसारको विद्युत् उत्पादन हुन सकेको छैन। पानीको वहावमा कमी आएपछि क्षमता अनुसारको विद्युत् उत्पानदमा हुन नसकेको हो। ३ दशमलव ७५ मेगावाट उत्पादन क्षमता रहेको दैलेखको द्वारी खोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेर जम्मा ४ सय किलोवाटमात्रै विद्युत उत्पादन भइरहेको छ। पानीको वहाव घटेपछि विद्युत उत्पादनमा गिरावट आएको परियोजनाका ओभरसियर पिताम्बर आचार्यले बताउनुभयो।

३ दशमलव ७५ मेगावाटको विद्युत उत्पादन क्षमता रहेको विद्युत् आयोजनाबाट अहिले चार सय किलोवाट मात्र विद्युत् उत्पादन भएको आचार्यले बताउनुभयो। खोलामा पानीको मात्रा कमि भएपछि विद्युत् उत्पादन घटेको हो। आचार्यले भन्नुभयो–‘पुस महिनामा प्रयाप्त मात्रामा पानी पनि परेन्, पानी नपरेकै कारण विद्युुत् उत्पादन घटेको हो।’

समयमै वर्षा नभएका कारण मंसिरदेखि निरन्तर ६ सय किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएकोमा माघ महिनाको शुरुआतसंँगै ४ सय किलोवाटमा झरेको आचार्यको भनाइ छ। सुर्खेतदेखि दैलेखसम्म ३३ केभीए क्षमताको विद्युत् लाइन विस्तारसमेत भइसकेकाले अहिले उत्पादन भएको विद्युत् प्रसारणमा सहजता भएको छ। कम्पनीका अनुसार उत्पादन भएको विद्युत् दैलेख सदरमुकाममा रहेको पावर हाउसबाट जिल्लाभित्र वितरण गरिन्छ र बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा वितरण गरिन्छ।

अहिले द्वारीखोलामा विद्युत् उत्पादन गरेको कम्पनीले डोल्टिपावर कम्पनीअन्तर्गत दैलेखको नौमुले गाउँपालिकामै पादमखोला विद्युत् उत्पादनको काम पनि गरेको छ। नौमुले गाउँपालिका–४ कालिकामा ड्याम निर्माण गरी ५७ स्क्वायर किलोमिटरबाट पानी ल्याई नौमुलेमा पावरहाउस निर्माण गरिने जनाइएको छ।