मोबाइलको आईएमईआई नम्बर दर्ता थप कडाइ गरिँदै

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
अनाधिकृत रूपमा मोबाइलको आयात रोक्न तथा मोबाइलको प्रयोगबाट अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याउनका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर दर्ता प्रक्रियालाई थप कडाइ गर्ने भएको छ।

प्राधिकरणले अनलाइन प्रणालीबाट आईएमईआई नम्बर दर्ता प्रक्रिया अगाडि बढाएसँगै आईएमईआई दर्ता नभएका मोबाइल प्रयोगमा नआउने बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो।

प्राधिकरणले वेबसाइडबाटै आईएमईआई दर्ता प्रक्रिया अगाडि बढाउने तयारी उल्लेख गर्दै प्रवक्ता अर्यालले एक साताभित्र शुरू हुने बताउनुभयो। यो प्रणाली कार्यान्वयनयनमा आएसँगै मोबाइल प्रयोगकर्ताले अनलाइन प्रणालीबाट नै आफ्नो मोबाइल फोनको आईएमईआई दर्ता गराउन सक्ने प्राधिकरणले जनाएको छ। यसरी अनलाइन प्रणाली आईएमईआई दर्ता भए पनि अन्तिम स्वीकृत भने प्राधिरणले नै गर्नेछ।

यसअघि मोबाइल कम्पनीले कागजी प्रक्रिया पूरा गरेर प्राधिकरणमा कागजात लगेर भेरिफिकेसन हुने गरेको थियो। प्राधिकरणले २०७१ वैशाख १ बाट दर्ता प्रक्रिया शुरू गरेको थियो। २१ महिनाको अवधिमा १ करोड ७७ लाख १९ हजारभन्दा बढी मोबाइलको आईएमईआई दर्ता भइसकेको अर्यालले बताउनुभयो।

नेपालमा मासिक औसत ४ लाख २१ हजारभन्दा बढी मोबाइल आयात हुँदै आएको आईएमईआईको दर्ता प्रक्रियाले देखाएको प्राधिकरणले जनाएको छ। नेपालमा आयात हुने गरेको अधिकांश मोबाइल सेटमा २ वटासम्म आईएमईआई नम्बर हुन्छ, यो दुवै आईएमईआई नम्बर प्राधिकरणले दर्ता गर्दै आएको छ।

यसरी अनलाइन प्रणालीबाटै आईएमईआई दर्ता प्रक्रियाले बाह्य मुलुक बाट अनधिकृत रूपमा आयात भएको मोबाइल आयात नियन्त्रण हुने र आधिकारिकरूपमा मात्र मोबाइल आयातलाई सहयोग पुग्ने प्राधिकरणको दाबी रहेको छ।

मोबाइल चोरी भएमा आईएमईआई दर्ता हुने भएकोले ‘ट्रयाक’ गर्न सजिलो हुने प्राधिकरणले जनाएको छ। यसबाट नेपालमा वार्षिक कति मोबाइल आयात हुन्छ भन्ने तथ्यांकसमेत आउने छ। त्यसका लागि वेब बेस अनलाइन रजिष्ट्रेसन सिस्टमको तयारीमा पूरा भएको चाँडै कार्यान्वयनमा आउने प्रवक्ता अर्यालले बताउनुभयो। उहँँले उक्त प्रणालीको परीक्षण पनि सफल भइसकेको सरोकारवाला निकायसँग छलफल शुरू भएको बताउनुभयो।