पहिलो जितमै फेडेरर उपाधि दाबेदारीमा


मेलबर्न, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन रोजर फेडेररले ब्रिटेनका पूर्वखेलाडी अल्जाज बेडेनलाई ६–३, ६–४, ६–३ सेटले हराएर अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्।

मेलबर्नमा मंगलबार भएको खेलमा सानदार जित हात पारेपछि स्विस खेलाडीलाई ३६ वर्षको उमेरमा पनि उपाधि दावेदारीमा अग्रस्थानमा राखिएको छ। उनी ६औं अस्ट्रेलियन ओपन र २०औं ग्रान्डस्लाम उपाधि जित्न सक्नेसमेत टेनिस पण्डितहरूले अनुमान लगाइसकेका छन्। ब्रिटेनबाट स्लोभेनियाको नागरिक बनेका बेडेनमाथि जित हासिल गर्न फेडेररलाई ९९ मिनेटको समय लागेको थियो। उनको अर्को खेलमा जर्मनीका जान लेनार्ड स्ट्रफविरुद्ध हुनेछन्।

जितपछि फेडेररले भने– ‘मैले अर्को राम्रो वर्षको आशा गरिरहेको छु। गत वर्ष परीको कथाजस्तै थियो। यस वर्ष पनि गत वर्षझैं हुने आशामा छु।
फेडेररले सहजै पहिलो चरण पार गर्दा अर्का स्विस खेलाडी स्टान वावरिन्काले रिकार्डास बेरान्किसलाई हराउन चार सेटमा संघर्ष गर्नुपरेको थियो। घुँडाको चोटका कारण गत जुलाईमा विम्बल्डनबाट पहिलो चरणबाटै बाहिरिएयता उनले पहिलो पटक खेल्दैछन्। पहिलो दुई सेट जितेका वावरिन्काले त्यसपछि लगातार सात गेम हारेका थिए।

२२औं वरीयताका मिलोस रायोनिक भने ७ वर्षमा पहिलोपटक ग्रान्डस्लामबाट छिटै बाहिरिए। स्लोभाकियाका लुकास लाक्कोले उनलाई चार सेटमा हराएका थिए। क्यानाडाका रायोनिक नाडीको शल्यक्रिया गराएर अक्टोबरपछि खेलेका थिए।

त्यस्तै ६ पटकका च्याम्पियन नोभाक जोकोभिचले पनि पहिलो चरणमा जित हात पारेका छन्। विम्बल्डनपछि खेलेका सर्बियाका जोकोभिचले अमेरिकाका डोनाल्ड योङलाई ६–१, ६–२, ६–४ ले हराएका हुन्। उनले अर्को चरणमा फ्रान्सका गेएल मोन्फिल्ससँग खेल्नेछन्।