दूषित फ्रेन्च दूध फिर्ता


पेरिस, (एजेन्सी)
फ्रान्सको दुग्ध उत्पादन कम्पनी ल्याक्टलिसले आइतबार साल्मोनेल्ला काण्डको कारण विश्वका ८३ वटा देशबाट १ करोड २० लाख बाकसभन्दा बढी धूलो बेबी मिल्क फिर्ता ल्याउन आह्वान गरेको छ। उक्त डायरी फर्मका प्रमुख कार्यकारिणी अधिकारी इमान्ययल बेस्नियरले उक्त दूध दूषित भएको सञ्चारमाध्यमसमक्ष पुष्टि गरेका छन्।

दूध कारखानामा साल्मोनेल्ला ब्याक्टेरिया भेटिएपछि गत डिसेम्बरदेखि दुग्ध उत्पादन बजारबाट फिर्ता लिने निर्णय गरिएको हो। थुप्रै अभिभावकले यो दूध खाएर आफ्ना बच्चाहरु बिरामी भएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्। कम्पनीका एक प्रवक्ताले उक्त दूध निर्यात गरिएका युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरुलाई दूषित दूधका बारेमा सूचना पठाइसकेको बीबीसीलाई बताएका छन्।

तर, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र अस्ट्रेलियामा पठाइएको दूध भने ठीक भएको पनि उनले बताएका छन्। ल्याक्टालिस विश्वकै सबैभन्दा ठूलो दुग्ध उत्पादन कम्पनीमध्ये एक हो। यसले वर्षको २१ अर्ब अमेरिकी डलरको करोबार गर्दछ।

विश्वका ४७ वटा मुलुकमा २ सय ४६ वटा उत्पादन केन्द्र रहेको यस कम्पनीको फ्रान्समा मात्र १५ हजार कर्मचारी रहेका छन्। साल्मोनेल्ला ब्याक्टेरियाका कारण झाडा पखाला, पेट बाउँडिने, वान्ता र अति जलविनियोजन हुन सक्छ। स–साना बालाबालिकाको त यसले ज्यानसमेत लिन सक्छ। अहिलेसम्म फ्रन्समा ३५ र स्पेनमा एक जनामा समस्या देखिएको छ।