झापाको कनकाई नदी किनारमा माइवेनी मेला

0
Shares

उत्तम नेपाल, भद्रपुर । मकर संक्रान्ति (माघी पर्व)को अवसरमा प्रत्येक बर्ष झै यसबर्ष पनि झापाको कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा वृहत धार्मिक माइवेनी मेला लागेको छ ।

मेची अञ्चलकै चर्चित धार्मिक स्थल मानिएको कनकाई माई नदीमा मकर संक्रान्तिको अवसरमा पूर्वकै सबै ठूलो धार्मिक मेला लाग्छ । यहाँ पूर्वका विभिन्न जिल्लासहित छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु आउने गरेकाले घुइँचो लागेको छ । धार्मिक परम्परा अनुसार मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ ।

त्यसैले माई नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास छ । व्रत लिएका भक्तजनहरुले नदीको दुवै किनारमा पूजाआर्चना गर्ने दृष्य हेर्न लायकको छ ।

हजारौ संख्यामा सहभागि हुने भक्तजन तथा तिर्थालुको सुरक्षालाई मध्यनजर गर्दै नदी स्थल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आयोजक समितिले यसबर्ष २ लाख ५० हजार भक्तजन मेलामा आउने अनुमान गरेकोले जिल्ला प्रहरी कार्यालय झापाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

मेलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ सय परिचालन गरिएको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने कनकाई पूल पूर्व इलाका प्रहरी कार्यालय बिर्तामोड र पश्चिमतर्फ इलाका प्रहरी कार्यालय झिलझिले सुरक्षा व्यवस्था मिलाएको डिएसपी बस्नेतले जनाए । सुरक्षा योजना प्रभाकारी बनाउन राजमार्गमा ठूलो संख्यामा ट्राफिक प्रहरी खटाइएकोले मेलाको भीडले राजमार्ग अवरुद्ध हुन नदिने गरी सुरक्षाकर्मी खटाएको उनले जानकारी दिए ।

प्रहरीले राजमार्ग, मन्दिर, मेलास्थल, पुल र सुरुङ्गा बजारलाई विशेष फोकस गर्दै सिसि क्यामेरा जडान गरेको छ । साथै सोही स्थानहरुमा सुरक्षाकर्मीको युनिट पनि खडा गरेको छ । महिला भक्तजनको सुरक्षाका लागि कम्तीमा १५ जनासहितको महिला प्रहरी टोली खटिएका छन् । सोही स्थानहरुलाई लक्षित गर्दै १० स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । भीड नियन्त्रणका लागि कनकाई नदीमा अस्थायी बाँसे पुल निर्माण समेत निर्माण गरिएको छ ।

विगत केही बर्षदेखि माइवेनी धार्मिक मेला तीन दिन सम्म सञ्चालन हुदै आएको छ । माघ १ गते मुख्य धार्मिक मेला लागेपनि आयोजक समितिले पुस ३० र माघ २ गते गरी तीन दिन मेला सञ्चालन गर्दै आएको छ । मेलामा विभिन्न खेल तमसा, मनोरञ्जन, स्थानीय उत्पादन बस्तु तथा खाद्यन्न सामानको मुख्य व्यापार हुने गर्दछ । मेलामा जुवातास खेल्न र मदिरा बेचविखन निषेध गरिएको छ । धार्मिक मेलालाई सभ्य र भव्य बनाउन आयोजक समिति, स्थानीय राजनीतिकदल, धार्मिक संस्था, कनकाई नगरपालिका र सुरक्षा निकायबीच सहमति भइसकेको छ ।