१३ वर्षीया बालिकाको बुबाआमा रुवाउने गीत

0
Shares

दाङ, (नेस)। आधुनिकतासँगै सन्तानबाट तिरस्कृत हुने वृद्धवृद्धाको पीडा लिएर दाङकी ममता बस्नेत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छिन्। १३ वर्षीया बस्नेतले सन्तानको वियोगमा तड्पिएका हजारौं बाबुआमाको पीडा बोल्ने गीत गाएर छोटो समयमै चर्चा कमाएकी छिन्।

सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिँदै दिन–रात बिताउने बुबाआमाको वेदना गीतमा पोखेकी छिन्।
तिम्रा लागि म त सधैं सबै सामु झुकें
हुर्काउँदा, बढाउँदा भन कहाँ चुकें।
तिमी हास्दा हासिदिएँ रुँदा रोइदिएँ
तोतेबोली सम्झी तिम्रो वचन छल्दै लुकें।
आफूलाई भन्दा पनि बढी माया गर्ने सन्तानले चटक्कै छोडिदिँदाको अवस्थालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै बस्नेतले बाबुआमाको हेरचाहमा लाग्न सन्तानहरूलाई आग्रह गरेकी छिन्। सन्तानका हरेक गल्ती कमजोरीहरू सजिलै भुल्ने बुबाआमालाई वृद्धाश्रममा अलपत्र छाडेर जाने सन्तानलाई लक्षित गर्दै गायिका बस्नेतले आफूलाई जन्माउने, हुर्काउने, बढाउने आमाबाबुलाई उच्च सम्मानका साथ बाँच्न दिने अवस्थाको सिर्जना हरेक सन्तानले गर्नुपर्ने सन्देश दिएकी छिन्।
माया ममता बिर्सिएर कसरी छाडी गयौ
मन्दिरमा बिन्ती चढाई तिम्रै बाटो ढुकें।

सानैदेखि गायनमा रुचि राख्दै आएकी गायिका बस्नेतले आफ्नो करियरको शुरुआतमै सन्देशमूलक गीत लिएर आएकी हुन्। उनको गीत छोटो समयमै धेरै रुचाइएको छ। एकनारायण चापागाईंको शब्द र विपीन घिमिरेको संगीत रहेको गीतलाई ममताको स्वरले उत्कृष्टता प्रदान मात्र गरेको छैन, हजारौं बाबुआमाको मन छुन सफल भएको छ। गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन्। देवराज आचार्यले छायांकन र मनोज कार्कीले सम्पादन गरेको गीतको म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएको छ।