होसियार ⁄ जहाँ पायो त्यहीं फोहोर फाल्दै हुनुहुन्छ ?



ईश्वरराज ढकाल, काठमाडौं
राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाको आग्रहमा आज सोमबारबाट प्रहरी परिचालन हुने भएको हो।

जहाँ भेट्यो त्यहींबाट पक्राउ गरी कारबाही गर्ने अधिकारसहित प्रहरी परिचालन गर्न लागिएको हो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कँुवरले डिउटीमा खटिएका प्रहरीले फोहोर फालेको अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी, कामपाका मेयर र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखसहितको बैठकले राजधानीलाई फोहोरमैलामुक्त शहर बनाउने योजनासहित प्रहरी परिचालन गर्न लागिएको हो।

विभागीय प्रमुख कुँवरले बिहानैदेखि डिउटीमा खटिएका प्रहरी टोलीले फोहोरमैलाको समेत अनुगमन गर्ने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले फोहोरको अनुगमन गर्ने र जथाभावी फोहोर फ्याक्नेमाथि तत्काल कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनुभयो। ‘हामी अनुगमन गर्छौं, जथाभावी फोहोर फ्याके तत्काल पक्राउ गरी जरिवानासहित कारबाही गर्छाैं।’ –उहाँले भन्नुभयो।

सबै सरोकारवालाको बैठकले फोहोरमैलाको संयुक्त अनुगमन गरी कारबाही गर्ने सहमतिअनुसार प्रहरी परिचालन गर्न लागिएको हो। वातावरण व्यवस्थापन विभागले राति अनुगमन गरिरहेको छ। एक सातादेखि महानगर प्रहरीको टोलीले बढी फोहोर फ्याक्ने क्षेत्र परिचान गरी अनुगमन गरेको छ। राजधानीको, पुतलीसडक, नयाँ बानेश्वर, सुन्धारा, रंगशाला, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमनलाई तीव्र पारिएको विभागले जनाएको छ। आज सोमबारबाट नेपाल प्रहरी र महानगर प्रहरीको टोलीले महानगर क्षेत्रको ३२ वटै वडामा अनुगमन गर्नेछ। फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार जथाभावी फोहोर फ्याक्नेमाथि ५ सयदेखि १ लाखसम्म जरिवाना वा ३ महिना कैद तथा दुवै सजाय हुने व्यवस्था छ।

‘सोही ऐनअनुसार फोहोर अनुगमन र कारबाही प्रक्रिया अघि बढाएका छौं’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो। महानगरीय प्रहरी परिसर काठमाडौंले सबै निकायलाई पत्राचार गरी जथाभावी फोहोर फ्याक्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यले जथाभावी फोहोर फ्याक्नेमाथि कारबाही गर्न अनुगमन थालिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘नेपाल प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले अनुगमन गरी कारबाही गर्ने व्यवस्था गरेका छौं।’ यसै गरी रात्रिकालीन अनुगमनका क्रममा ६ दिनमा कामपाले १७ जनालाई पक्राउ गरेको छ। रातको समयमा शहरका सार्वजनिकस्थलमा फोहोर फाल्नेमाथि निगरानी गर्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन्। महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार पुतलीसडक, टेकु, भोटेबहाल, त्रिपुरेश्वरलगायतका क्षेत्रबाट पक्राउ परेका दोषीलाई जरिवाना गर्दा ४१ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको छ। विभागले ३ देखि ७ जनाको टोली परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्