ताप्लेजुङमा तरुलको कारोबार बढ्यो

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा विभिन्न किसिमका तरुलको व्यापार बढेको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै सदरमुकाम फुङ्लिङको तोक्मे हटिया, दोभान र सिवा लगायतका बजारहरुमा तरुलको व्यापार बढेको हो ।

जाडोमा स्वास्थ्यलाई समेत फाईदा पुग्ने र माघे संक्रन्तिमा तरुल खानै पर्ने मान्यताले पनि यसको बिक्रि वितरण बढेको व्यापारीहरुले बताएका छन् । माघे संक्रान्तिलाई लक्षित गर्दै बजारमा यति बेला घरतरु, बनतरुल, सिमलतरुल, ईस्कुसे तरुल लगायतका तरुलका प्रकारहरु पाईने गरेको स्थानिय व्यापारी तुलसी गौतमले बताए ।

अहिले ताप्लेजुङ सदरमुकाममा घरतरुल प्रतिकिलो ८० रुपैया, बन तरुले १५० रुपैयाँमा कारोबार भईरहेको व्यापारीहरुको भनाई छ । गाँउबाटै खनेर ल्याएको ताजा तरुल सदरमुकामका चोक र अन्य पसलमा समेत बेच्न राखीएको छ ।

तरुललाई पुसमा पकाएर माघ मा खाने परम्पराले पनि पुसको अन्त्यमा तरुलको कारोबार बढि हुने गरेको बताईएको छ । घरका सबै परिवार एकै ठाउँमा बसेर उसिनेको तरुल र तरुलका विभिन्न परिकार खाएर ताप्लेजुङमा माघे संक्रान्ति मनाउने प्रचलन रहेको छ ।