कृषि तथा पशु विकासका योजना ओझेलमा

0
Shares

सिर्जना पन्त, बागलुङ
स्थानीय तह र विषयगत कार्यालयबीच गाउँ तथा नगरसभाबाट योजना तथा कार्यक्रम तयार गर्ने क्रममा समन्वय नहुँदा बागलुङका कृषि तथा पशु विकास सम्बन्धी योजना अलपत्र परेका छन्। मन्त्रालयले पठाएको बजेट स्थानीय तहले विभिन्न पूर्वाधारका क्षेत्रमा विनियोजन गरेपछि कृषकका योजना ओझेलमा परेका हुन्।

तरकारी, फलफूल र खाद्यान्नको साथै पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमले कृषकलाई राहत र प्रोत्साहन मिलेको अवस्थामा स्थानीय तहले बजेट कटौती गर्दा समस्यामा परेको काठेखोलाका कृषकले बताउएका छन्। ४ नगरपालिका र ६ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको बागलुङमा कृषि क्षेत्रमा बरेङ, बडिगाड, ताराखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा मात्रै बजेट विनियोजन गरिएको छ।

यस्तै पशु विकासका क्षेत्रमा बरेङ र ताराखोला गाउँपालिका एवम् गल्कोट नगरपालिकाले मात्रै बजेट विनियोजन गरेका छन्। स्थानीय तह र विषयगत कार्यालयबीच समन्वय नहुँदा एवम् बजेट निसर्तमा आएपछि बजेट अन्यत्र विनियोजन भएको कृषि कार्यालय बागलुङका कृषि प्रसार अधिकृत विप्लप अधिकारीले बताउनुभयो।

मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र विनियोजन गरेपछि कृषकहरू बिउविजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ। अनुभव, समन्वय र समयमै सूचना नहुँदा मन्त्रालयले बनाएको कार्यक्रमअनुसार बजेट विनियोजन गर्न नसकिए पनि आधारभुत आवश्यकताका क्षेत्रमा बजेटको कमी हुन नदिने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो।