१५ वर्षको माग थेग्ने गरी खानेपानी योजना निर्माण थालनी

0
Shares

नवराज पहाडी, लमजुङ
लमजुङको जिल्ला सदरमुकाममा आउँदो १५ वर्षसम्मको माग थेग्ने गरी खानेपानी योजना निर्माण गर्न लागिएको छ। बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगुवाइमा सो कार्य गर्न लागिएको हो।
उक्त कार्यमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले प्राविधिक सेवा दिने भएको छ। एक घर एक धारा नीतिअनुसार सो आयोजनाको निर्माण गर्न लागिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन इन्जिनियर जगरनाथ दासले बताउनुभयो। उहाँका अनुसार यतिबेला उपलब्ध भएको खानेपानी वर्तमानको मागलाई समेत थेग्न नसक्ने भएको छ। तत्कालै वैकल्पिक व्यवस्था गर्नुपर्ने भएको हँुदा विकल्पका रूपमा नयाँ योजनाको निर्माण गर्न लागिएको दासको भनाइ छ।

बेंसीशहरको बजार क्षेत्रमा यतिबेला दैनिक ३५ लाख लिटर खानेपानीको माग छ। तर आपूर्ति केवल १८ हजार ५० लिटरमात्र प्रति दिन भइरहेको अवस्था छ। प्रस्तावित योजनाअनुसार प्रतिसेकेन्ड २५ लिटरका दरले आपूर्ति हुने गरी निर्माण गरिने भएको दासले बताउनुभयो। उहाँका अनुसार भाँचोक खोलाबाट ल्याउन लागिएको सो आयोजना २ वर्षभित्र निर्माण भई सक्छ र त्यसले बेंसीशहरको आउँदो १५ वर्षसम्मको माग थेग्ने विश्वास गरिएको छ।

उक्त आयोजनामा ७ किमी दूरीबाट पाइप बिच्छ््याएर ल्याउन लागिएको हो। सो योजना सम्पन्न गर्नका लागि २८ करोड ८३ लाख खर्च लाग्ने अनुमान गरिएको र त्यसको निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनुभएको छ। उहाँका अनुसार गत साउनमा सो आयोजनाको निर्माण कार्य आउँदो २ वर्षभित्र सम्पन्न हुने गरी निर्माणका लागि सम्झौता गरिएको हो।