जनताको घरआँगनमै न्याय पाइन्छ ः प्रधानन्यायाधीश

0
Shares

धनवीर दाहाल, रुकुमकोट

प्रधान न्यायाधीश गोपाल पराजुलीले न्याय माग्नका लागि धेरै टाढा धाउने जमाना गएको बताउनुभएको छ। अब जनताको घरदैलोमै न्याय पाइने उहाँको भनाइ छ। नेपालकै ७७औं जिल्ला रुकुम पूर्वको जिल्ला अदालतको शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो कुरा बताउनुभएको हो। रुकुम पूर्वका जनतालाई उहाँले न्याय माग्नका लागि पश्चिम रुकुममा धाउनु नपर्ने पनि बताउनुभएको छ। रुकुम जिल्ला एउटै हुँदा धेरै दुःख भएकाले अब रुकुम पूर्वको लागि छुट्टै जिल्ला अदालत भएपछि रुकुम पूर्वका नागरिकलाई सहज भएको छ। यस्तै प्रधानन्याधीश पराजुलीले न्याय दिन ढिला नगर्न पनि रुकुम पूर्वको जिल्ला अदालतलाई आग्रह गर्नुभयो।

रुकुम पूर्वमा विभिन्न सरकारी कार्यालय स्थापना हुने क्रममा शुक्रबार जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय स्थापना भई औपचारिकरूपमा कार्य सञ्चालन भएको हो। रुकुम पूर्वलाई नयाँ जिल्लाको औपचारिक मान्यता दिंदै गत असोज १९ गते प्रस्तावित सदरमुकाम रुकुमकोटमा केही सरकारी कार्यालयहरू स्थापना गरिएको थियो। जिल्लामा केही महत्वपुर्ण सरकारी कार्यालयसँगै जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय भएपछि नागरिकमा थप खुसियाली छाएको छ।

भौगोलिक हिसाबले दुर्गम तथा हिमाली जिल्लाको सूचीमा रहेको पूर्वी रुकुममा अहिले पनि सरकारी कामकाज पुरानै भवनबाट भइराखेको छ। पूर्वी रुकुमका नागरिकले जिल्ला घोषणासँगै जिल्लामा सरकारी कामकाज शुरू हुन थालेपछि अन्य स्थापना हुन बाँकी सरकारी तथा गैरसकारी कार्यालय स्थापनाको काममा ढिलाई नगर्न आग्रह गरेका छन्। तीन स्थानीय तह मिलेर नयाँ जिल्ला बनेको रुकुम पूर्वमा यसअघि जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन कार्यालय स्थापना भइसकेका छन्।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय उद्घाटन गर्दै रुकुम पूर्वका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कमला रोकाले अब जिल्लामा सबै कार्यालय स्थापना हुने र विकासले गति लिने बताउनुभयो। वर्षाैंदेखिको समस्या अब घरआँगनमै समाधान हुने उहाँले विश्वाश व्यक्त गर्नुभयो।