चिसोले ढोरपाटन उपत्यकाका विद्यालय बन्द, जनवादी प्रावि विद्यार्थीसहित बसाइँ सर्यो

0
Shares

सिर्जना पन्त, बागलुङ
ढोरपाटन उपत्यकाका अधिकांश विद्यालय दुई सातापहिले नै बन्द भइसकेको भए पनि एउटा विद्यालयले भने कक्षा सञ्चालन गरिरहेको छ। वर्षको ६ महिना खेतीपाती, घर खेत र अन्य सामानलाई चौकी स्थापना गरी हेरालु राखेर निसीको तल्लो भेगमा बस्ती नै सारेर जीवन चलाउँदै आएका ढोरपाटन उपत्यकाका बालबालिकालाई जनवादी प्राथमिक विद्यालयले भने विद्यालय नै सारेर पढाइरहेको छ।

ढोरपाटन–९ को नवी र ढोरपाटन–८ को सेकारुपमा विद्यालयको भौतिक संरचना निर्माण गरेर वर्षको ६ महिना नवी र ६ महिना सेकारुपमा कक्षा सञ्चालन गर्दै आएको शिक्षक देवबहादुर सुनारले बताउनुभयो। ढोरपाटन उपत्यकामा पुस माघमा हिउँ पर्ने र तुसारो लाग्ने हुँदा सो क्षेत्रका स्थानीय बस्ती नै सारेर ढोरपाटनको तल्लो भेगमा सर्दै आएका छन्। असोजको ५ गते विद्यार्थीसहित सेकारुप झरेको जनवादी प्राथमिक विद्यालय आगामी जेठ महिनामा विद्यार्थीसहित पुनः नवीमा उक्लने सुनारले बताउनुभयो। ‘हामीकोमा अध्ययन गर्ने बालबालिकाको ढोरपाटनको उपल्लो र तल्लो दुवै स्थानमा बसोबास छ, त्यसैले घुम्ती विद्यालय सञ्चालन गर्न सजिलो भएको छ’ –सुनारले भन्नुभयो।

ढोरपाटन उपत्यकामा रहेका ६ वटा विद्यालयमध्ये जनवादी प्राविमा कक्षा सञ्चालन भइरहेको भए पनि अन्य ५ वटा विद्यालय भने बन्द भएका छन्। चिसोको कारणले ज्योती विकास प्राथमिक विद्यालय, ढोरवराह प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय, बालज्योती प्राथमिक विद्यालयमा दुई सातापहिले नै बिदा गरिएको छ भने कुणेढोर प्राथमिक विद्यालय शुक्रबारबाट बिदा गरिएको छ।

ढोरक्षेत्रका विद्यालयले जिल्लाका अन्य विद्यालयले भन्दा फरक बर्खामा विद्यालय सञ्चालन गर्ने र हिउँदमा बिदा गर्ने गरेको ढोरबराह प्राविका शिक्षक भीमबहादुर श्रेष्ठ बताउनुहुन्छ । घुम्ती विद्यालयसहित सो क्षेत्रका विद्यालयमा ६ सय ८२ विद्यार्थी यो शैक्षिक सत्रमा भर्ना भएका छन्। चिसोको कारणले प्रहरीसमेत तल्लो भेगमा सर्ने भए पनि व्यक्ति र राज्यको सम्पत्ती सुरक्षाका लागि चौकी स्थापना गर्ने गरेको श्रेष्ठले बताउनुभयो। ढोरक्षेत्रका स्थानीयको घर सम्पत्ती सुरक्षा गर्न वर्षभरि पुग्ने आलु, मकै, फापरजस्ता अन्नबाली दिएर हेरालु राख्ने गरेको उहाँले बताउनुभयो।