घरेलु हिंसा न्यूनीकरण प्रयास, गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै प्रहरी

0
Shares

अनिल खत्री, गुल्मी

जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषध र घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई गाउँ–गाउँमा पुर्याएको छ। पौष १ गतेदेखि जिल्लाका विभिन्न स्थानमा विभिन्न स्कुलका विद्यार्थी र विभिन्न गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमूहलगायतका समूहलाई लागूऔषध दुव्र्यसनीविरुद्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

अभियानको मुख्य उद्देश्य विद्यार्थी तथा अभिभावकलाई लागूऔषधको दूरगामी असरबारे जानकारी दिई लागूऔषधबाट टाढै रही यसविरुद्धको कारबाहीमा सक्रिय बनाउनु रहेको गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। कार्यक्रम सञ्चालनअन्तर्गत हालसम्म १७ स्कुलका १ हजार ९ सय ७० जना विद्यार्थी र १७ स्थानका ६ सय १५ जना अभिभावकलाई प्रशिक्षण दिइएको छ।

सचेतनामूलक प्रशिक्षणमा लागूऔषधको परिचय, प्रकार, लागूऔषध अपराधसम्बन्धी दण्ड सजाय र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनीबाट पर्ने असरहरू, दुव्र्यसनमा फस्ने कारणहरू तथा लागूऔषध अपराध रोकथाम तथा नियन्त्रणमा परिवार र समाजको भूमिकालगायतका विषयवस्तु समावेश गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। लागूऔषध र घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रममा विभिन्न स्थानका बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र आमा समूहरूलाई भेला गराई कार्यक्रमहरू गर्ने गरेको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए।

प्रहरीले विभिन्न स्थानमा रहेका आफ्ना मातहतका युनिटहरूबाट लागू औषधबाट समाजमा हुने नकारात्मक असरहरू र घरेलु हिंसाले परिवार र समाजमा पर्ने प्रभावका विषयमा मुख्य गरी जनचेतनामूलक कार्यक्रमहरू गरेको हो। पछिल्लो समययता युवापिंढी लागूऔषधमा फसिने र समाजमा विभिन्नखाले अपराधहरू पनी बढ्ने हुँदा यसको नियन्त्रण गर्नका लागि जिल्लाका विभिन्न स्थानमा जनचेतानामूलक कार्यक्रमहरू राखिएको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए।

समाजमा धेरै घटना लागूऔषधको दुव्र्यसनी र घरेलु मदिराबाट उत्पन्न हुने भएकाले यसको नियन्त्रण गर्ने मुख्य उद्देश्य रहेको प्रहरी उपरीक्षक द्विवेदीको भनाइ छ। लागूऔषध र घरेलु हिंसाको जनचेतनामूलक कार्यक्रमले युवा पिंढीहरूलाई यस्तो नकरात्मक क्रियाकलापमा फस्न नदिने र समाज हुने धेरै अपराधका घटना कम हुने प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए।

प्रहरीले कार्यालय यस अगाडि ७४ साल भाद्र र आश्विन महिनामा जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ५० क्विन्टल गाँजा फडानी तथा नष्ट गरिसकेको डीएपी थापाले जानकारी दिए। लागूऔषध र घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम जिल्लाभर जारी रहेको प्रहरीले जनाएको छ।