कुर्दाकुर्दै आमाको मृत्यु, ६ वर्षदेखि कहाँ गए चुडामणि ?

0
Shares

रामधन राई, खोटाङ
कतारमा पैसा कमाएर फर्केपछि गाउँको दुःख छल्नलाई मधेसतिर बसाइँ सर्नुपर्छ भन्दै श्रीमती कुमारी पौडेललाई मिठो आशा देखाउने चुडामणि पौडेल कतार पुगेको २ महिनामा एक्कासि कतारमा बिरामी परे। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का पौडेल कतारमा एक्कासि बिरामी भएपछि कतारमै रहेका आफन्तहरुले नेपाल फर्काइदिए। काठमाडौंमा भएको चिनजानको एजेन्टमार्फत म्यानपावर कम्पनीमा ७५ हजार बुझाएर २०६९ मा कतार गएको पौडेलले क्लिनरको काम गर्नुपथ्र्याे। मासिक १८ हजार कमाइ हुने भन्दै छिटै ऋण तिरिसक्ने र अरु कमाइ गर्ने भन्दै श्रीमतीलाई सपना सुनाउँने चुडाले मधेसमा झरेर बालबच्चालाई राम्ररी पढाउने योजना पनि बनाएका थिए।

तर सबै सपना चक्नाचुर बन्यो। उनी कतारबाट न सामान्य भन्न मिल्ने न जटिल भन्न मिल्ने मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउने भएर फर्किए। ‘आफ्ना ३ छोराछोरीकै भविष्यका लागि विदेसिएका उनी फर्केपछि छोराछोरी काखमा गएर बस्दा रिसाउने, झर्किने, घाम अस्ताउन थालेपछि घर छाडेर हिँड्ने, विष किनेर खान्छु’ भन्नेजस्ता अस्वभाविक व्यवहार देखाउने श्रीमती कुमारी बताउनुहुन्छ। घरमा बस्न पटक्कै मन नगर्ने भएर फर्किएका उनी कतारबाट फर्केपछि जम्मा ५ दिन घर बसे। ६ दिनको रात २०६९ साउनमा सुतेको बेला घर छाडेर हिँडेका उनी कहाँ गए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। उनको खोजीका लागि प्रहरीलाई पनि खबर गरिएको श्रीमती बताउनुहुन्छ। अनेक पहल गर्दा पनि कतै नभेटिएको चुडामणिलाई पर्खंदा–पर्खंदै उनकी आमाको २ वर्षअघि मृत्यु भयो। छोराछोरी ठूलाठूला भइसके तर त्यो रातदेखि चुडामणि कता गए अझै पत्ता लागेन।

छोरा गोपीकृष्ण र श्रीकृष्ण तथा छोरी पवित्राको आडभरोसामा जीवन हाँकिरहेकी श्रीमती कुमारीको श्रीमान् फर्केर आउने झिनोे आशा त अड्किएकै छ। ‘कुनै दिन घर फर्केर आउँछन् कि भन्ने आश त मरेको छैन।’ श्रीमान् कतार जाँदा लिएको ऋण बढिरहेको बताउनुहुने कुमारी फेरि मन मार्नुहुन्छ– ‘खोज्न नि कहाँ जानु र अब त?’