पाक–अमेरिकाको बिग्रँदो सम्बन्ध, पाकिस्तानले जासुसी सूचना अमेरिकालाई नदिने


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका रक्षा मन्त्री खुर्रम दस्तगिरले अमेरिकासँगको सैनिक सहयोग तथा गोप्य जानकारी आदान प्रदान रोकेको बताएका छन्।

पाकिस्तानले यो कदम उसले पाइरहेको अमेरिकी सहयोग बन्द हुनुले चाल्नुपरेको बताएको छ।

पाकिस्तान सरकारले यसको जानकारी ट्विटरमा दिएको हो। रक्षा मन्त्री खुर्रम दस्तगिरले पाकिस्तानले आतंकवादविरुद्ध लडाइँमा आफ्नो जिम्मेवारी पूरा गरेको बताए।

यसै महिनाको शुरूवातमा अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानले आतंकवाद सञ्जालविरुद्ध कारबाही नगरेकाले उसलाई दिँदै आइरहेका सबै सुरक्षा सहायता रोकेको जनाएको थियो।

यसको उद्देश्य यदि पाकिस्तान अमेरिकाको मित्र राष्ट्र बन्दैन भने स्थिति पहिले जस्तो नहुने त्यहाँको सरकारलाई बताउनुरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो। तर पाकिस्तानले उसको मदतकै कारण अमेरिका अलकायदालाई सफाया गर्न सक्षम भएको दोहोर्याएको छ।

यसअघि पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नललाई पाकिस्तानको अमेरिकासँग गठबन्धन अन्त्य भएको बताएका थिए। नयाँ वर्षको शुरूआतसँगै अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा खिचातानी शुरू भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दशकमा अर्बौं डलर लिएका पाकिस्तानले बदलामा अमेरिकालाई धोका दिएको आरोप लगाएपछि ती दुईबीच तनाव बढेको हो।

ट्रम्पले भनेका थिए– ‘अमेरिकाले विगत १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा बढी सहयोग गर्यो र उसले बदलामा झुठ र छलबाहेक केही दिएन। उसले अमेरिकी नेताहरू मूर्ख सोचेको छ। हामी अफगानिस्तानमा जुन आतंकवादीहरूलाई खोजिरहेका छौं, उसले उनीहरूलाई आश्रय दिएको छ। अब त्यस्तो हुने छैन।’

ट्रम्पको उक्त ट्विटको जवाफमा पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्विटमै चाँडै राष्ट्रपति ट्रम्पलाई जवाफ दिने र विश्वसामु सत्य कुरा ल्याउने बताएका थिए।

उक्त बयान आएपछि अमेरिकाले हक्कानी नेटवर्कजस्ता समूहविरुद्ध कारबाही नगरेकाले पाकिस्तानलाई सैन्य सहायता स्थगित गरेको घोषणा गरेको थियो।