क्यालिफोर्निया भू–स्खलनमा कम्तीमा १३ को मृत्यु

0
Shares

लस एन्जलस, (एजेन्सी)
दक्षिणी क्यालिफोर्नियामा पहिरो तथा भू–स्खलनबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ। प्रभावित इलाकामा बचेकाहरूको खोजी भइरहेको उद्धारकर्मीहरूले जानकारी दिएका छन्।

तटीय इलाकाको ३० माइलभन्दा लामो मार्ग बन्द गरिएको छ भने प्रहरीले प्रभावित इलाकाको दृश्य पहिलो विश्व युद्धको रणभूमिजस्तो भएको बताए। सान्ता बार्बारासँग जोडिएको रोमेरो क्यान्यनमा ३ सय जनाको एक समूह फसेको बताइएको छ। उनीहरूको उद्धार अर्को दिनमात्र गरिने बताइएको छ।

मृतकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। ५० जनाभन्दा बढीको उद्धार भइसकेको छ, तर धेरैजसो ठाउँमा अझै पुग्न नसकेको बताइएको छ। प्रमुख हाइवे १ सय १ लगायत कैयौं मार्ग बन्द गरिएका छन्।

अहिलेसम्म १ सय ६३ घाइतेलाई अस्पताल पुर्याइएको छ। २० जना आँधीबेरीमा घाइते भएका र ४ जनाको अवस्था गम्भीर भएको बताइएको छ। महिनौंपछिको पहिलो वर्षाका कारण पहिरो तथा बस्तीमा हिलो बगाएर ल्याएको अधिकारीहरूले बताए। उक्त इलाका गत डिसेम्बरमा भीषण आगलागीका कारण सुख्खाग्रस्त रहेको थियो।

वर्षाको पानी सोस्ने रूखबिरूवा सबै जलेर नष्ट भएकाले पानीले माटोलाई गालेका कारण भू–स्खलन तथा पहिरो गएको अधिकारीहरूले बताए। हालै आगलागी भएका इलाकाहरू जोखिममा रहेको र ती क्षेत्रमा भू–स्खलन तथा पहिरोको सम्भावना रहेको राष्ट्रिय मौसम सेवाले दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भीषण वर्षाका कारण बगेर आएको हिलोले मान्टेसिटो आवास क्षेत्रमा केही घरलाई जगैदेखि भत्काएको सान्ता बार्बरा काउन्टी फायर डिपार्टमेन्टका प्रवक्ता माइक एलियासनले बताए। डाँडाबाट साना गाडी आकारका ढुंगा झरेको र त्यसले बाटो अवरुद्ध पारेको उनले बताए। स्थानीय अधिकारीले प्रभावित इलाकामा बस्नेलाई धाराको पानी उमालेर मात्र पिउन आह्वान गरेको छ।