हिउँ चितुवाको छालासहित पक्राउ

0
Shares

हेटौंडा, (नेस)
मकवानपुर प्रहरीले हिउँ चितुवाको छालासहित मकवानपुरका १ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा खटिएको प्रहरीले मकवानपुरको थाहा नपा–१, ओखरबजारस्थित त्रिभुवन राजपथ सडकमा ग्राहक खोजिरहेका थाहा नपा–८ बस्ने वर्ष ४२ का सञ्जीव थापालाई बुधबार बिहान करिब सवा १० बजे पक्राउ गरेको हो।

बन्यजन्तुको छाला १४ लाख रुपियाँमा बिक्री गर्ने तयारीमा रहेका थापाको शरीर खानतलासी गर्दा पिठ््युँमा बोकेको झोलाभित्र लुकाइएको बोरामा ६ फिट लम्बाई र १ फिट ६ इञ्च चौडाईं भएको हिउँ चितुवाको छालासहित फेला पारिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो। थापालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।