खर्च विवरण बुझाउँदैनन उम्मेदवार

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा उम्मेदवार बनेका ब्यक्तिहरुलाई पटक पटक टेलिफोन मार्फत खर्च विवरण बुझाउन ताकेता गरिरहे पनि सहज रुपमा समयमै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् ।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका मध्ये प्रतिनिधि सभामा देशभरकै दोश्रो लोकप्रिय मत प्राप्त गरी विजयी भएका एमालेका युवा नेता गोकुल बास्कोटाले निर्वाचनमा भएको खर्च विवरण पेश गरेका छन् । बास्कोटाका प्रतिनिधि कुमार तिमल्सिना मार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरिएको हो । बास्कोटाले आयोगले दिएको २५ लाखको सिमा भित्रै रहेर खर्च गरेको विवरण बुझाएका छन् । १५ लाख ८५ हजार ८ सय ५२ रुपैया खर्च मध्ये सबै भन्दा धेरै सवारी साधनको खर्च भएको बास्कोटाको विवरणमा उल्लेख गरिएको छ । सवारी साधनमा ४ लाख, प्रचार प्रसारमा ९१ हजार ५ सय, ढुवानी खर्च ६० हजार लगायतको खर्च भएको बास्कोटाले बताएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सुर्दशन हुमागाईले पनि खर्च विवरण बुझाएका छन् । उनले पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । नयाँ शक्तिबाट उम्मेदवार भएका मनमान बल, कृष्णकुमार भण्डारी, तिलकबहादुर लामा, रेशमलाल श्रेष्ठ, रामकुमार खड्का र पवनराज कर्णजितले पनि खर्च विवरण बुझाएका छन् । नयाँ शक्तिका रामकुमार खड्काले ४५ हजार मात्रै खर्च भएको विवरण बुझाएका छन् । निर्वाचन आयोगले यस अघि खर्च भएको विल भरपाई नै बुझाउन भने पनि यो पटक शिर्षकमा मात्रै खर्च भएको विवरण बुझाउन भनेको छ । त्यति सहजता हुँदा पनि उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन ।

स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले पनि अझै खर्च विवरण बुझाएका छैनन । २०७० सालको संविधान सभाको निर्वाचनमा भाग लिएका उम्मेदवारहरु मध्ये १३ जनाले अझै खर्च विवरण बुझाएका छैनन । ति मध्ये केहि स्थानीय तहमा र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका छन् । आयोगले खर्च विवरण नबुझाउनेलाई पनि ऐन अनुसार कारवाही नगर्दा आयोगको काम प्रति शंका र अविश्वास बढ्दै गएको छ ।

खर्च विवरण बुझाएर १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारहरुले धरौटी रकम फिर्ता पाउने छन् । आयोगले खर्च विवरण बुझाउन ३५ दिनको म्याद दिएको छ ।