चिनियाँ बच्चाहरूले लगाउने अनौठो पाइन्ट “कई डांग कु”


बेइजिङ, (एजेन्सी)
चीनमा बच्चाहरूलाई दिसा बस्न सजिलोका लागि पछाडि खुला भएको पाइन्ट लगाइदिनु परम्परा नै हो। बच्चाहरू गल्ली, पार्क वा सपिङ सेन्टरमा सार्वजनिक स्थलमै थचक्क बसेर शौच गर्नु चीनमा सामान्य मानिन्छ।

बच्चालाई हिँडडुल गर्दा असजिलो नहोस् भनेर चीनका धेरैले उनीहरूलाई यस प्रकारको पहिरन लगाइदिएका हुन्छन्। यसलाई ‘कइ डांग कु भन्ने गरिन्छ। यो एक प्रकारको विशेष पाइन्ट हो। जसको पछाडिको हिस्सामा ठूलो प्वाल हुने गर्छ। पहिलाको तुलनामा अब यसको कम प्रयोग हुने गर्छ तर यो चलन अन्त्य पनि भएको छैन। विदेशीहरू यस प्रकारको पाइन्टको अर्थ नबुझ्न सक्छ। बाहिरबाट आउने धेरैका लागि यो राम्रो बानी होइन भन्ने लाग्न सक्छ र यसले बच्चालाई समस्या हुन्छ भन्ने सोच्न सक्छन्।

ब्राजिलबाट हालै मात्र बेइजिङ बस्न आएका एक वकिलले भने– ‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टर गएको थिएँ। मैले त्यहाँ एक बच्चा थचक्क बसेर दिसा बसिरहेको देखें। फेरि मैले उसकी आमाले दिसा सफा गरिरहेको पनि देखें। मलाई अच्चम्म लाग्यो। यो सबै अनौठो थियो।’
चिनियाँहरूमा यस्तो पाइन्ट लगाउनाले बच्चाले चाँडै वासरुमको प्रयोग गर्न सिक्छ भन्ने धारणा छ। डायपर लगाउने बच्चाहरूले वासरुम जाने बानी ढिलो गरी सिक्छन्।

चिनियाँ बच्चाको यो पहिरनले मान्छेहरूको यसरी ध्यान तानेको छ कि इन्टरनेटमा यस विषयमा कुरा गर्न एउटा फोरम नै बनाइएको छ। ‘कई डांग कुको लोकप्रियता चीनमा व्यापक देखिन्छ। चीनको
प्रायः बजारका लुगा पसलहरूमा बिना प्वाल भएको पाइन्ट पाउन कठिन छ।

यो पाइन्टको बेफाइदा भनेको बच्चाले जहाँ पनि दिसा बस्न सक्छ। यसको नतिजा सार्वजनिक स्थानमा फोहर र दुर्गन्ध फैलिन्छ। यसले रोग निम्त्याउँछ। यो समस्या शहरको तुलनामा चीनका गाउँको स्थिति अन्त्यन्तै खराब छ। विश्वमा ‘कई डांग कुको प्रयोग पर्यावरणका लागि राम्रो हो वा होइन भन्ने विषयमा विवाद नै भइरहेको छ।

यसको प्रयोगबाट कयौं टन फोहरको खतरा कम भइरहेको अनुमान गरिएको छ। कयौं युरोपेली देशमा अहिले अभिभावकहरूलाई बच्चाका लागि कपडाको डायपर प्रयोग गर्न आह्वान गरिरहेका छन्।

यद्यपि चिनियाँ डाक्टरहरूले भने डिस्पोजेबल डायपरको प्रयोग गर्नु राम्रो हुने निष्कर्षमा पुगेका छन्। यसलाई छिटो छिटो फेर्न पर्ने हुन्छ, अन्यथा बिरामी हुने खतरा हुन्छ। यो बाहेक डायपरको प्रयोग अब प्रतिष्ठाको विषयसँग पनि हेर्न थालिएको छ।