जीवन रक्षामा लाग्न प्रशासनको आग्रह

0
Shares

नेपाल समाचारपत्र
राजविराज
जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीले शीतलहरका कारण जोखिममा रहेकाहरूको जीवन रक्षा र उद्दारका गम्भीर भएर लाग्न सरोकारवालालाई निर्देशन दिएको छ।

समितिका संयोजकसमेत रहेका सीडीओ भागीरथ पाण्डेयको अध्यक्षतामा बसेको सरोकारवालासहितको बैठकले चिसोका कारण जनधनको क्षति भएको र जनजीवन कष्टकर भएको भन्दै यस्तो निर्देशन जारी गरेको हो।
वैठकमा शितलहरका कारण थप मानवीय क्षति हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आ–आफ्नो क्षेत्रमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका थिए। शितलहर पीडितका लागि विभिन्न क्षेत्रबाट हालसम्म भएका प्रयासका विषयमा सीडीओले चासो राखेका थिए।

उनले शीतलहर पीडित दलित र विपन्न समुदायका नागरिकहरूका लागि तत्काल न्यानो कपडा, कम्बल, दाउरा बाँड्न स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरूलाई आग्रहसमेत गरेका छन्। यसै गरी, आवश्यक उपचारसहितका स्वास्थ्यकर्मीहरूको टोली सम्बन्धित क्षेत्रमा पठाउन पनि निर्देशन दिए।

बैठकमा नेपाल प्रहरीका, सशस्त्र प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायका प्रमुखहरू, १८वटै स्थानीय तहका कार्यकारी अधिकृत, स्थानीय तहका प्रमुखहरू, जिल्ला जनस्वास्थ्य कार्यालय, रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता थियो।