विभेदकारी तलबका कारण बीबीसी चीनकी महिला सम्पादकद्वारा राजीनामा

0
Shares

लन्डन, (एजेन्सी)
बीबीसी चीनकी सम्पादक क्यारी ग्रेसीले संस्थामा असमान तलबलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छिन्। गे्रसीले बीबीसीमा महिला कर्मचारीलाई पुरुष कर्मचारीको तुलनामा कम वेतन दिने गरेको बताएकी छिन्।

राजीनामापछि जारी गरेको एक खुला पत्रमा ३० वर्ष बीबीसीमा काम गरिरहेकी ग्रेसीले बीबीसी कर्पोरेसनमाथि ‘गोप्य तथा गैरकानुनी तलब संरचना’को आरोप लगाएकी छन्। उनले डेढलाख बेलायती पाउन्डभन्दा धेरै तलब खाने कर्मचारीमा दुई तिहाइ पुरुष भएको जानकारी अगाडि आएपछि बीबीसीले विश्वासको संकटको सामना गरिरहेको बताइन्।
बीबीसीले उनको आरोपलाई लिएर संस्थामा महिलाविरुद्ध कुनै भेदभाव नभएको जनाएको छ। ग्रेसीले बीबीसी चीनको सम्पादकका रूपमा गत हप्ता आफूले राजीनामा दिएको तर संस्थामा भने रहिरहने बताएकी छन्।

आफू टीभी न्युजरूममा आफ्नो पूर्व भूमिकामा फर्कने र त्यहाँ आफूले तलब पुरुषबराबर पाउने अपेक्षा गरेको ग्रेसीले बताए। बजफिड न्युजमा प्रकाशित खुला पत्रमा उनले लेखेकी छिन्– ‘बीबीसी नागरिकको सेवा हो जसले अनुमति शुल्क चुकाउँछ।’

उनले भनिन्– ‘बीबीसीले समानताको कानुन तोडिरहेको छ र पारदर्शी तथा निष्पक्ष तलब स्ट्रक्चरका लागि दिएको दबावलाई रोकिरहेको छ भन्ने कुरा सबैको थाहा पाउने अधिकार छ भन्ने मैले ठानेकी छु।’

गत वर्ष जुलाइमा बीबीसीलाई बार्षिक डेढ लाख पाउन्डभन्दा धेरै कमाउने सबै कर्मचारीहरूको तलब सार्वजनिक गर्नुपरेको थियो। ग्रेसीले बीबीसीका दुई पुरुष अन्तर्राष्ट्रिय सम्पादक महिलाहरूको तुलनामा कम्तीमा ५० प्रतिशत बढी तलब खाइरहेको थाहा पाएपछि आफू निराश भएको बताइन्। बीबीसी अमेरिकाका सम्पादक जोन सोपेलले २ देखि साढे दुई लाख पाउन्डको बीचमा तलब पाएका थिए। त्यसै गरी बीबीसी मध्यपूर्वका सम्पादक जेरेमी बावेनले डेढदेखि दुई लाख पाउन्डको बीचमा तलब प्राप्त गरेका थिए।

क्यारी ग्रेसी उक्त सूचीमा थिइन् तर उनको डेढ लाख पाउन्ड वार्षिक तलबभन्दा कम थियो। आफ्नो खुला पत्रमा ग्रेसीले समानताको कानुन भन्ने गरेको, समान काम गरिरहेका पुरुष र महिलालाई बराबर तलब दिनुपर्ने उल्लेख गरेकी छिन्।

आफनो पत्रमा ग्रेसीले आफूले तलबवृद्धि नचाहेको तर समान तलब चाहेको उल्लेख गरेकी छिन्। यसैबीच बीबीसी सञ्चार सम्पादक अमोराजनले ग्रेसीको राजीनामाले बीबीसीका लागि समस्या उत्पन्न गराएको बताए। राजनका अनुसार बीबीसीले तलबमा समानता ल्याउने प्रतिवद्धता जनाएको छ तर ग्रेसीको पत्रले त्यसलाई खोक्रो आश्वासन मात्र भएको देखाएको छ।

ट्विटरमा बीबीसीका पत्रकारसमेत धेरैले क्येरी ग्रसीको समर्थन गरेका छन्।