कार्यकारी अधिकृत आतंक

0
Shares

हेमन्त पौडेल, कैलाली
धनगढी उप–महानगरपालिकाका कार्यकारी अधिकृत (प्रमुख प्रशासकीय अधिकृत) कृष्णप्रसाद गौतमले आतंक मच्चाएका छन्। कात्तिक ११ गते उप–महानगरपालिकामा हाजिर भएका गौतमले सेवग्राहीप्रति दुव्र्यवहार गर्ने गरेका छन्। काम विशेषले उप–महानगरपालिका पुगेका सेवाग्राहीप्रति दुव्र्यवहार गर्दै समयमा काम नगर्ने गरेको गुनासो बढ्दै गएको छ।

सेवाग्राहीले लगेका फाइलहरू प्रक्रिया नपुगेको भन्दै फालिदिने गरेका छन्। फाइलमा कुन कागजहरू पुगेन, कुन ठाउँबाट ल्याउनुपर्ने हो सो कुराको कुनै जानकारी नदिईकन फाइफ्याँक्ने गरेको सेवाग्राही बताउँछन्। उप–महानगरपालिकामा सर्वसाधारण मानिसहरू आफ्नो काम लिएर जाने गरेका छन्। तर कार्यालय प्रमुखको यस्तो हर्कतले सेवाग्राही दुःखी हुने गरेको एक प्रत्यक्षदर्शीले बताए। गतसाता आफ्नो काम लिएर उप–महानगरपालिका पुगेका एक सेवाग्राहीको फाइलमा काजपत्र नपुगेको भन्दै फ्याँकेको आफूले देखेको ती प्रत्यक्षदर्शीले बताए।

उप–महानगरमा घरनक्सालगायत अन्य काम लिएर पुग्ने अधिकांश सेवाग्राही कार्यालय प्रमुख गौतमको कार्यशैलीबाट निकै आक्रोशित हुने गरेका छन्। यसअघिका कार्यालय प्रमुखले अपुग भएका कागजपत्रहरूका बारेमा जानकारी दिँदै सम्बन्धित ठाउँमा जान सुझाव दिने गरेको बताउँदै आफ्नो काम लिएर उप–महानगरपालिका पुगेका एक सेवाग्राहीले भने फाइलमा कागनै पूरा नराखेर मेरो टेबुलमा ल्याउने भन्दै धम्काएको उनको गुनासो छ। के कागज पुगेन के ल्याउनुपर्छ भन्दा कुनै जवाफ नदिएर झर्किने गरेको उनको भनाइ छ।

जिविस डोटीबाट सरुवा भएर आएका कार्यकारी अधिकृत गौतमको कार्यशैलीप्रति आम नगरवासीसमेत सन्तुष्ट छैनन्। उनले आफूबाहेक अरू जान्ने कोही नभएको जस्तो गरेर अरूलाई होच्याएर व्यवहार गर्ने गरेका छन्।

जनप्रतिनिधि आएपछि सेवाग्राहीले सहजरूपमा सेवा पाउने आशा गरेका थिए तर कार्यालय प्रमुख गौतमको व्यवहारले जनप्रतिनिधिहरू पनि निकै दुःखी भएका छन्। कार्यालय समयमा कार्यालय प्रमुखले ढोका बन्द गरेर बैठक गर्ने र सेवाग्राहीको काम नगर्दा निकै समस्या देखेपछि सेवाग्राहीको काम रोकेर बैठक नगर्न सुझाव दिएको एक वडा अध्यक्षले जानकारी दिए। जनप्रतिनिधि आएपछि छिटोछरितो काम होला भन्ने आशामा बसेका जनताहरू कार्यालय प्रमुख गौतमका कारण काममा ढिलाइ हुने गरेको ती अध्यक्षले पनि गुनासो गरे।

एकै पटकमा हुने काम लामोसमयसम्म झुलाएर राख्ने कार्यालय प्रमुख गौतमको बानी नै बनेको छ। निर्माण सम्पन्न भएका बिलहरू भुक्तानीका लागि लगे पनि विभिन्न बहाना बनाएर फिर्ता गर्ने गरेका छन्।

यसले गर्दा काम सम्पन्न भएको दुई महिना बितिसक्दासमेत भुक्तानी नभएको गुनासो पनि बढ्दै गएको छ। उप–महानगरपालिकासँग जनताको प्रत्यक्ष सरोकार रहेको र त्यसमा पनि विभिन्न कार्यालयहरूको एकाइ उप–महानगरपालिकामा रहेकाले कामको चाप बढी रहेको छ।

कामको चाप बढिरहेकाले सेवाग्राही पनि बढी नै हुने गरेका छन्। कार्यालय प्रमुख बाहिर रहेको अवस्थामा कार्यालय प्रमुखको हस्ताक्षरका लागि कुरेर बस्नुपर्ने बाध्यता रहेको छ तर कार्यकारी अधिकृत गौतमले आफ्नो कार्यकक्षमा मानिसहरूको भीड भएको भन्दै रिसाउने गरेका छन्।

किन भीड लागेको तपाईंहरू बाहिर जानुस् भन्दै दुव्र्यवहार गर्ने गरेका छन्। गौतम कार्यकारी अधिकृत भएर आएदेखि उनले रवाफ देखाउँदै आएका छन्। उनले गर्ने दुव्र्यवहारप्रति नगरवासी निकै आक्रोशित बन्दै गएका छन्। जनताको सेवाका लागि आएका गौतमले जनताका अगाडि अनावश्यक रवाफ देखाउन थालेपछि स्थानीय नगरबासी आक्रोशित बनेका छन्। सेवाग्राहीप्रति गर्ने व्यवहार सुधार नगरेमा कालोमोसो लगाएर बजार परिक्रमा गराउने चेतावनी दिएका छन्।

कार्यकारी अधिकृत गौतमको कार्यशैलीका कारण आम सेवाग्राहीमात्र नभई स्वयम् कर्मचारी र जनप्रतिनिधिहरू पनि सन्तुष्ट छैनन्। विभिन्न बहाना बनाएर कर्मचारीहरूलाई समेत दुःख दिने गरेका छन्। कर्मचारीसँगको समन्वयको अभावमा उप–महानगरपालिकाको कार्यसम्पादनमा समेत समस्या देखिएको छ। छिटो हुने कामलाई पनि विभिन्न बहान बनाएर ढिलाइ गर्ने गरेका छन्। कार्यकारी अधिकृत अथवा नगरप्रमुखबाटै हुनसक्ने कामलाई पनि बोर्डमा लैजानुपर्ने भन्दै काममा ढिलाइ हुने गरेको छ। कार्यकारी अधिकृतको असहयोगका कारण नगरको कामसमेत प्रभावित हुने गरेको जनप्रतिनिधिहरू बताउँछन्।

कार्यकारी अधिकृत गौतमले उप–महानगरपालिकामा विज्ञापन एजेन्सी दर्ता गरे पनि स्थानीय एजेन्सीहरूलाई विज्ञापन उपलब्ध नगराएर मोटो कमिसन लिएर काठमाडौंका एजेन्सीसँग सम्पर्क गरेर आफै विज्ञापन छपाउने गरेको गुनासो पनि बढेको छ। सूचना शाखालाई कुनै पनि जानकारी नगराई विज्ञापन आफै डिगर्ने गरेका छन्। विज्ञापन छपाउने कुरामा त आफै सहभागी भएर कमिसन लिन्छन् भने विकास निर्माणबाट आउने रकममा कति रकम दुरुपयोग गर्छन् होला भन्दै प्रश्न उठेको छ। कार्यकारी अधिकृत गौतमले गरेको सेवाग्राहीप्रतिको व्यवहारका बारेमा जनगुनासो बढेकाले यस बारेमा जानकारी लिन उप–महानगरपालिका पुग्दा कार्यकारी अधिकृत गौतमले आफू बैठकमा जान लागेको भन्दै हिँडेका थिए।

गौतमले जनताप्रति गरेको व्यवहारका बारेमा जनगुनासो बढेको सम्बन्धमा नगरप्रमुख नृप वडसँग जानकारी लिँदा आफूलाई पनि यस बारेमा जनगुनासो सुनेकाले यसका बारेमा जानकारी लिने बताउनुभयो। ‘जनताको सेवाका लागि बसेका हौं, हामी कुनै शासक होइनौं, जनताको सेवक हौं जनताप्रति सबैले नम्र व्यवहार गर्नु हाम्रो कर्तव्य हो,’ –प्रमुख वडले भन्नुभयो।