गोविन्द केसीले अदालतको अवहेलना गरेको ठहर, पक्राउको आदेश

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । अदालतले मंगलबार बिहान अदालत उपस्थित हुन आदेश दिएको छ।

भ्रष्ट र माफिया प्रधानन्यायाधीशभन्दै आजबाट अनसन बसेका केसीलाई सर्वोच्च अदालतले अदालत अवहेलनाको मुद्दा लागेको हो । उनलाई अदालतले मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको हाे।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सर्वोच्चको प्रशासनबाट टिप्पणी उठाउँदै दर्ता गरेको निवेदनमा आदेश जारी गरिएको हो। डा. केसीले आइतबार र सोमबार अदालतको मानहानि गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको हो। सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन तयार पार्दै इजलाससमक्ष पेश गरेको बताइएको छ ।
प्रशासनले पेश गरेको उक्त टिप्पणीमाथि आदेश गर्दै सर्वोच्च मंगलबार बिहान नौ बजे गृह मन्त्रालय मार्फत केसीलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयको नाममा आदेश समेत दिएको प्रहरीले जानकारी दिएको छ ।

केसीले जारी गरेको प्रेस विज्ञप्ति र अनलाइनमा आएका समाचार सामग्री हेर्दा संविधान र कानुन बमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएको फैसला विरुद्ध आम जनमानसमा भ्रम पर्नेगरी र न्यायाधीश विरुद्ध भ्रम फैलाउने र अवहेलनाजन्य कार्य गरेको हुँदा मंगलबार बिहान नौ बजे यस अदालतमा उपस्थित गराउनू- आदेशमा भनिएको छ ।