सिमसारमा पानीचरा गन्न चटारो

0
Shares

टीका बन्धन, काठमाडौं

मुलुकका सिमसार, जलाधार र तालतलैयामा आश्रित जलपन्छी (पानीचरा)को गणना शुरू भएको छ। हिउँदे आगन्तुक र मुलुकभित्रैका रैथाने जलपन्छीको स्थलगत गणना शनिबारदेखि शुरू गरिएको हो।
सप्तकोशी वन्यजन्तु आरक्ष र आसपासका क्षेत्र, चितवनका विभिन्न ताल र सिमसार, जगदीशपुर र घोडाघोडी ताल, लुम्बिनी आसपासका तालतलैया, बर्दिया, महाकाली र पोखरा उपत्यकाका ताल र सिमसार क्षेत्रमा गणना आरम्भ गरिएको हो। गण्डकी, नारायणीसहित काठमाडौं उपत्यकाका नदी र तालतलैयामा समेत जलपन्छी गणना गरिँदै छ।
जलपन्छीको गणना मुलुकका साना–ठूला ५० भन्दा बढी सिमसार र जलाधार क्षेत्रमा केन्द्रित हुने गणना टोलीका संयोजक एवम् वरिष्ठ पन्छीविद् डा. हेमसागर बरालले जानकारी दिनुभयो। ‘शनिबारदेखि शुक्लाफाँटा र सप्तकोशी आसपासबाट गणना शुरू भएको छ, माघ पहिलो साताभित्र गणना सक्ने गरी टोली र स्वयंसेवक खटिएका छन्।’ –उहाँले भन्नुभयो। विगतको तथ्यांक नियाल्दा रैथाने र आगन्तुक जलपन्छीका करिब ८० प्रजाति गणनाका क्रममा भेटिने गरेका डा. बरालले बताउनुभयो।

हिउँदयाम शुरू हुनुअघि नियमित बसाइ–सराइको क्रममा चीन, मंगोलिया, साइबेरिया, कोरिया, ताजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्ता, अजरवैजानसहित उत्तरपूर्वी युरोपबाट जलपन्छी नेपाल भित्रिने गर्छन्। केहीपन्छी निरन्तर ५ दिन ५ रात उडेर नेपाल भित्रिने गर्छन् भने धेरै पानीचरा विभिन्न मुलुक, नदीले बनाएका उपत्यका र आसपासका स्थानमा बास बस्दै, विचरण गर्दै आउने गर्छन्। जलपन्छीको ठूलो संख्या र प्रजाति भने चीन र तिब्बतबाट नेपाल आउने गर्छन्।
पन्छीविद्हरूका अनुसार ‘बार हेडेड गुज’ (खोया हाँस) अन्य पन्छीहरूभन्दा सबैभन्दा बढी उचाइमा उड्न सक्छ, त्यो पन्छी ९ हजार ३ सय ७५ मिटरको उचाइ तय गर्दै नेपाल भित्रिने गर्छ। सुनजुरे, मालक, खडखडे, सुइरो पुच्छ्रे, बेल्चा ठुडे, मरुल, बिजुला गौरी, सिन्धुरेलगायतका हाँसका धेरै प्रजाति मुलुकका सिमसार र जलाधारमा रम्ने गर्छन्। त्यसै गरी सुडसुडिया, चिमचिमा, जलरंक, गंगाचिललगायत अन्य प्रजाति पनि हिउँदयाममा विचरणका लागि भित्रिने गर्छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, जुलोजिकल सोसाइटी लन्डनलगायत करिब १ दर्जन राष्ट्रिय⁄अन्तर्राष्ट्रिय संघ⁄संस्थाले स्वयंसेवी रूपमा गणनालाई सघाउने गर्छन्। वेटल्यान्ड इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा विश्वका धेरै मुलुकमा हरेक वर्षको हिउँदयाममा यस्तो गणना हुँदै आएको छ। युरोपेली मुलुकहरूमा सन् १९६०को दशकदेखि शुरू भएको यस्तो गणना दक्षिण एसियाली मुलुकहरूमा भने सन् १९८७देखि आरम्भ भएको हो। नेपालमा हिमाली प्रकृति र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयुक्त पहलमा यस्तो कार्य हुँदै आएको छ। नेपालमा यस वर्ष ३१औं पटकको गणना हुँदै छ।

यसपटकको गणना शुरू हुनु केही साताअघि पोखरा, कोशी टप्पुलगायतका सिमसार क्षेत्रमा पन्छीका दुर्लभ प्रजाति भेटिएकाले संरक्षणकर्मी निकै उत्साहित बनेका छन्। ‘पोखरा र कोशी टप्पुमा ‘ग्रेटरवाइट फ्रन्टेट गुज’ कलहाँसको प्रजाति भेटिएको छ, पोखरामा ४ र कोशीमा ३ वटा यस्तो पन्छी भेटिएको हो’ –पन्छीविद् डा. बरालले भन्नुभयो। उहाँका अनुसार केही वर्षअघि कोशीमा फेला परेको सो पन्छी केही वर्षको अन्तरमा चितवन, पोखरा र अहिले फेरि कोशीमा भेटिएको छ।

भदौ दोस्रो सातादेखि पुस मध्ये आसपासमा बच्चाको बथानसहित नेपाल आउने पन्छी करिब ५⁄६ महिना यतै रहन्छन् र वयस्क बच्चासहित फर्कने गर्छन्। विज्ञहरूका अनुसार ठूलो संख्यामा पानी चराका धेरै प्रजाति जगदीशपुर जलाशयमा भेटिन्छन् भने पन्छी प्रजाति विविधताका हिसाबले कोशी महत्त्वपूर्ण गन्तव्य हो। विगतको तथ्यांक नियाल्दा जगदीशपुरमा आगन्तुक र रैथाने जलपन्छीको संख्या २० हजारभन्दा बढी थियो। त्यसैगरी चितवन र कोशीमा १०⁄१० हजारभन्दा बढी संख्या अभिलेख हुने गरेको अर्का पन्छीविद् कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो।