गिट्टी बालुवा नहुँदा आयोजना अलपत्र

0
Shares

नेपाल समाचारपत्र
पर्वत
पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा यस क्षेत्रमा निर्माणाधीन राष्ट्रिय महत्वका सडक आयोजना र जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ।
नदीबाट पर्याप्त मात्रामा ढुंगा, गिटी र बालुवा उत्खनन गर्न नपाएको भन्दै क्रसर व्यवसायीले निर्माण सामग्री आपूर्ति नगर्दा आयोजनाको निर्माण कार्य सुस्त बनेको हो।

यस क्षेत्रमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, मध्य मोदी, तल्लो मोदी, राहुघाटलगायतका जलविद्युत् आयोजना र कालीगण्डकी प्रसारण करिडोर जस्ता राष्ट्रिय महत्वका योजना निर्माण भइरहेका छन्। कालीगण्डकी र मोदीखोलामा स्काभेटर प्रयोग गरी पर्याप्त मात्रा निर्माण सामग्री उत्खनन गर्न नसकेको भन्दै स्थानीय क्रसर व्यवसायीले निर्माण सामग्री आपूर्ति गर्न छाडेका छन्। यसले गर्दा निर्माण कार्य सुस्त बनेको निर्माण कम्पनीले गुनासो गरेका छन्। ‘भनेको समयमा बालुवा र गिट्टी पाउनै सकिँदैन’ कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका प्रोपाइटर ओम गौचन भन्नुहुन्छ–‘पुल ढलानका लागि बालुवा र गिट्टी नपाएपछि सोचेअनुसार काम गर्न नै सकिएको छैन,’ उहाँले निर्माण सामग्री पर्याप्त मात्रामा नहुँदा सोचे भन्दा एक वर्ष ढिलो निर्माण सक्न पनि कठिन हुने गुनासो गरे।

पर्वतमा सञ्चालित क्रसर उद्योगले नियमति रूपमा सामग्री दिन नसकेपछि निर्माणको अन्तिम चरणमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ। आयोजनाको सुरुङमा कंक्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको हो। आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पूरै प्रभावित भएको छ।

‘सुरुङ खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कंक्रिटिङ गर्नुपर्ने हुन्छ’ कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुब मिश्रले भन्नुभयो–‘बालुवा र गिट्टी नपाउँदा काम सहजरूपमा गर्न सकेका छैनांै।’ यसैगरी मध्य पहाडी राजमार्गअन्तर्गत पोखरा – बागलुङ राजमार्गको स्तरोन्नतीको काम समेत प्रभावित भएको छ। पोखरादेखि पर्वतको मालढुंगासम्म चार खण्डमा स्तरोन्नतीको काम समेत प्रभावित भएको छ।