अनलाइनबाट दाजुभाइ अर्बपति

0
Shares

काठमाडौं, (नेस)
सानै उमेरमा आफ्नै क्षमताले अर्बपति बन्ने व्यक्ति संसारमा कमै छन्। अधिकांश युवाका लागि यो उमेरमा पढाइमा व्यस्त हुने रहँदा आयरल्यान्डका एक दाजुभाई भने फोब्र्स पत्रिकाका अर्बपतिको सूचीमा अटाएका छन्। सानो उमरमै अर्बपतिको सूचीमा अटाएका अर्बपति हुन् आयरल्यान्डका २७ वर्षिय जोन कोलिसन र २९ वर्षिय उनका दाजु प्याटिक कोलिसन।

कोलिसन ब्र्रदर्स पैतृक सम्पत्तिले अर्बपति बनेका युवा होइनन्। उनीहरूले आफ्नै मेहेनतले यो सफलता चुमेका हुन्। अर्बपतिको नाम सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले उनीहरूलाई ‘युथ सेल्फ मेड बिलिनियर’ २०१७ को सूचीमा राखेको छ।

यो उमेर कतिपयका लागि अध्ययन सकेर जागिरको सुरसार गर्ने समय हो भने कोही आफ्नै लगानीमा व्यवसाय शुरु गर्न तयारी गर्छन्। तर, उनीहरू अहिले नै एक्कासी अर्बपति भने बनेका होइनन्। उनीहरूले सन् २००८ भन्दा पहिलेदेखि नै ‘अक्टोमेटिक’ नाम गरेको कम्पनी सञ्चालन गर्थे। दाजुभाईको दक्षिण अफ्रिका भ्रमणका बेला प्राप्त गरेक ‘आइडिया’ उनीहरू मिलेर उक्त अक्टोमेटिक कम्पनी ‘स्टार्टअप’ गर्नमा प्रयोग गरेका थिए। सो ‘अक्टोमेटिक’ कम्पनी उनीहरूले सन् २००८ मा ५ मिलियन अमेरिकी डलरमा बिक्री गरिदिए। यस अर्थमा उनीहरू १९ र २१ वर्षको उमेरमै करोडपति भइसकेका थिए।

अहिले उनीहरू अनलाइन पेमेन्ट कम्पनी सञ्चालक हुन्। उनको कम्पनीको नाम ‘स्ट्रिप’ हो। यस कम्पनीको स्थापना कोलिसन दाजुभाईले सन् २०१० मा स्थापना गरेका थिए। उनीहरूको यो कम्पनीले ७ वर्षमा हिँड्दै गर्दा १ लाखभन्दा बढी कम्पनीलाई सेवा दिइरहेको छ। हाल जोन र प्याट्रिकको कम्पनी स्ट्रिपमा साढे ७ सय व्यक्तिले रोजगारी पाएका छन् जसमध्ये ५ सय सान फ्रान्सिस्कोमा र अन्य १ सय ५० जना विश्वको अन्य विभिन्न स्थानबाट काम गरिरहेका छन्। उनीहरूको कम्पनीको कारोबार २५ देशमा फैलिएको छ। अहिले उनीहरूको कम्पनीको मूल्यको हिसाब नेपालीमा निकाल्दा लगभग १० खर्ब रुपियाँ बराबरको मूल्यांकन हुन्छ।
जोन अहिले स्ट्रिपको संस्थापक तथा अध्यक्ष हुन् भने प्याट्रिक प्रमुख कार्यकारी अधिकृत हुन्। कोलिसन दाजुभाईलाई वस्तु तथा सेवा खरिदमा गरिने पेमन्टको माध्यम नै बदलिदिए। उनीहरूको कम्पनी स्ट्राइप कम्पनीले वेबसाइट सञ्चालन गर्ने तथा २५ देशका व्यापारीलाई इन्टरनेटको माध्यमबाट अर्बाैं रकम प्राप्त तथा ट्रान्सफर गर्न सहयोग गर्दछ।

दाजुभाइको सम्पत्तिको हिसाब गर्दा प्याट्रिक कोलिसन १ अर्ब डलर बराबरको सम्पत्तिका मलिक हुन्। ८ वर्षको उमेरदेखि कम्प्युटर शिक्षा लिएर १० वर्षको उमेरदेखि प्रोग्रामिङ शुरू गरेका प्याट्रिक हाल सानफ्रान्सिस्कोमा बस्छन्। त्यस्तै १ अर्ब डलर सम्पत्ति भएका जोन हाल सिलिकन भ्यालीमा बस्छन्। हावर्ड विश्वविद्यालयबाट पढाई सकेका जोन कुसल पियानो वादक र पाइलट पनि हुन्।
कसरी बने अर्बपति ?
जोन र प्याट्रिक आयरल्यान्डको एउटा सानो गाउँमा हुर्किएका हुन्। दुवैभाई सानै उमेरदेखि नै कम्प्युटर प्रोग्रामिङमा रुची राख्ने गर्दथे। स्कूलको पढाई सकाएर दुवैले अमेरिकाका ठूला कलेजमा पढ्ने निर्णय गरेका थिए। अमेरिकामा उनीहरू कसैलाई चिन्दैन थिए। तर, यसको बाबजुत पनि प्याट्रिकले सन् २००७ मा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोजोली (एमआईटी)मा भर्ना पाए। दुई वर्षपछि जोन पनि हार्वर्ड विश्वविद्यालय पुगे।

उनीहरूको पहिलो बिजेनस ‘अक्टोमेटिक’ साना कम्पनी र कारोबारीलाई वेब पोर्टल अमेजन र ईबेमा सामान कारोबारका लागि सहयोग गर्दथ्यो। अक्टोमेटिक सन् २००८ मा ५० लाख डलरमा बिक्री भएको थियो र त्यसपछि दुवै भाईले पुरा ध्यान स्ट्राइपमा लगाएका थिए। पढाईका बीचमा उनीहरूले आफ्नो व्यवसायमा ध्यान दिँदै कलेज बीचमा नै छोडेका थिए र स्ट्राइप लन्च गरेका थिए।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)