राजधानी माग्दै दीपायलमा निकालियो थाली जुलुस

0
Shares

विमल विष्ट, डोटी
नम्बर प्रदेशको राजधानी दीपायल तोकिनुपर्ने माग गर्दै डोटीका आन्दोलनकारीहरूले शुक्रबार यहाँको प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा राजपुरमा थाली जुलुस निकालेको छ।

हजारौंको संख्यामा निस्किएका महिला तथा पुरुषहरूको जुलुसले बजार परिक्रमा गर्दै राजपुरस्थित क्षेत्रीय प्रशासन कार्यालयअगाडि कोणसभा गरेको थियो। कोणसभामा बोल्दै अधिकां वक्ताहरूले ७ नम्बर प्रदेशको राजधानी दीपायल नतोकिए आफूहरू कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।
हात हातमा थाल, चम्चा बोकेर स्वस्फुर्तरूपमा आएका आन्दोनलकारीहरूले थाल बजाउँदै ७ नम्बर प्रदेशको राजधानी दीपायल कायम गर, जनताको अधिकार खोस्न पाइँदैन, पहाडी एकता जिन्दावाद भन्ने नारासमेत लगाएका थिए।

त्यस्तै आन्दोलनकारीहरूले गरेको अनिश्चितकालीन बन्दको तेस्रो दिन डोटीको जनजीवन निकै प्रभावित बन्दै गएको छ। राजधानी दीपायलको माग गर्दै आन्दोलनकारीले गरेको बन्दले यहाँका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, कलकारखाना तथा यातायातका साधनहरू तीन दिनदेखि ठप्प भएका छन्। यहाँका प्रमुख व्यापारिक केन्द्र दीपायल, पिपल्ला, राजपुर तथा सिलगढी बजार पूर्णरूपमा बन्द गरिएको छ।

बजारभरि आन्दोलनकारीहरूले दीपायल राजधानी माग गर्दै नाराबाजी गरिरहेका छन्। आन्दोलनकारीहरू राजधानी दीपायल हुनुपर्ने माग गर्दै राति सडकमै सुत्न थालेको माओवादी केन्द्रका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी सडकमा उत्रिसकेका छौं, राजधानी दीपायल कायम नहुँदासम्म सडक छोडेर घर जानेछैनौं।’

आन्दोलनकारीहरूले दैनिक सडकमा टायर बालेर यातायातसमेत बन्द गरेका छन्। बन्दका कारण यहाँका पहाडी जिल्लाबाट तराई जाने कुनै पनि यातायातका साधन छुटेका छैनन्। महिला, युवा युवतीहरूको ठूलो जमातले बिहानैदेखि सडकमा नाराबाजी गरिरहेको छ।

राजधानी माग गर्दै यहाँको संघर्ष समितिले एक हप्तादेखि शान्तिपूर्ण र्यालीको आयोजना गर्दै आए पनि त्यसको सुनुवाइ हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै थप कडा आन्दोलनको शुरुआत गरेको हो। आन्दोलनकारीहरूले सडकमा ढुंगा, मुडा तेस्र्याएर बाटो अवरोध गरेका छन्। आन्दोलनकारीले चक्का जाम गरेपछि सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति भएको छ।

बन्दकर्ताले एम्बुलेन्स, विदेशी कूटनीति नियोगका गाडी तथा प्रेसका गाडीहरू भने चल्न दिएका छन्। त्यस्तै राजधानी दीपायल हुनुपर्ने माग गर्दै डोटीको बुडरमा पनि शुक्रबार आन्दोलन गरिएको छ। आन्दोलनकारीले शुक्रबार दिनभरि बुडर बजार बन्द गर्नुका साथै यातायातका साधन पनि ठप्प पारेका थिए।