रााष्ट्रिय प्राणी उद्यान निर्माणका लागि सुझाव संकलन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
सरकारले भक्तपुरको सूर्यविनायक जंगलमा निर्माण गर्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माण सम्पन्न गर्न ५ अर्ब रुपियाँ लाग्ने भएको छ। सूर्यविनायक नगरपालिकाको संयोजन तथा राष्ट्रिय प्राणी उद्यानको आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा यसको गुरुयोजना सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गुरुयोजनाअनुसार प्राणी उद्यानले २ सय ४५ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टर क्षेत्रफलमा पशु उपचार केन्द्र निर्माण गर्ने भएको छ।

जसमा गणेशमान वाटिका, सिपाडोल र गुण्डुतर्फ ३ वटा गेट बन्ने भएका छन् भने ७ भागमा विभाजन गरी ३० प्रतिशत क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्ने, प्राणी उद्यानको वरिपरि रिङरोड बनाइने भएको छ। यसै गरी वरिपरि तार बार लगाउने, कटुञ्जेको भन्ज्याङबाट गुण्डु कार्की गाउँसम्म आकाशे पुल बनाउने, सिपाडोलदेखि गुण्डुसम्म सुरुङ मार्ग बनाउने गुरुयोजनामा उल्लेख छ।

कार्यक्रममा प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेतीले स्थानीयको सुझाव लिएर अगाडि बढ्ने बताउँदै खानेपानी र सडकको स्तरोन्नति गरी स्थानीयलाई उपभोगमा रोक नलगाउने, कूल पुजा नरोक्ने, विद्यालयको स्तरोन्नति गर्ने, राजकुलोको व्यवस्था गर्ने, सूर्यविनायक गणेश मन्दिर क्षेत्रको विकास गर्ने र त्यसको हस्तक्षेप नगर्ने बताउनुभयो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीवी पोखरेल र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले स्थानीयका मागलाई सम्बोधन गरेर प्राणी उद्यान निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेमा जोडदिनुभयो।
प्रारम्भिक गुरुयोजनामा भने प्राणी उद्यानभित्र पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क, स्वीमिङ पुल र व्यायाम स्थलसमेत निर्माण गरिने गरी २० वर्षमा कुल १ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असार ९ गते शिलान्यास गर्नुभएको राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक नगरपालिकाभित्रका गुण्डु, सूर्यविनायक र सिपाडोलका ७ वटा सामुदायिक वनको २ सय ५९ हेक्टर क्षेत्रफलमा निर्माण हुने भएको छ।

कार्यक्रममा सहभागीले स्थानीयलाई योग्यताअनुसारको रोजगारी दिनुपर्ने, उद्यानभित्र रहेका प्राणी, खोनपानी मुहान, पानी ट्यांकी र पाइपको संरक्षण हुनुपर्ने, स्थानीयलाई खानेपानीबाट वञ्चित गर्न नहुने, उद्यानभित्र सञ्चालित हुने व्यवसाय स्थानीयलाई नै दिनुपर्ने, उद्यानभित्र पर्ने सडक बन्द गर्न नहुने माग राखेका छन्। सामुदायिक वन उपभोक्ता समिति संयोजक एवं सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका सचिव विश्वराम थापाले सरकारसँग २७ बुँदे माग राखेको बताउँदै ती मागलाई सम्बोधन हुनुपर्ने बताउनुभयो।

त्यसै गरी स्थानीयका मागमा प्रसिद्ध एवं ऐतिहासिक धार्मिक सम्पदाको रूपमा रहेको सूर्यविनायक गणेश मन्दिरलाई उद्यानले कब्जा गर्न नहुने, स्थानीयले जंगलमा गर्दै आएको कूल पूजालाई रोक्न नहुने, सूर्यविनायकका बासिन्दालाई निःशुल्क प्रवेशको व्यवस्था गर्नुपर्नेलगायत २७ वटा माग राखेका छन्।
वडा नं. ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले स्थानीयको सहभागिता र समन्वयमा नै प्राणी उद्यान निर्माण अगाडि बढाउने बताउँदै प्राणी उद्यान निर्माणका क्रममा स्थानीयको मागलाई सम्बोधन गराउन वडा नं. ६, ७ र ८ का वडाअध्यक्षको टिम नगरपालिकाले प्रतिनिधित्व गरेर पठाएको जानकारी दिनुभयो।