सन्तोष अधिकारी, गोरखा ।
जिल्लाको भीमसेन गाउँपालिकाको केन्द्र सार्ने निर्णय फिर्ता गराउन दबाद दिन गोरखा बगुवाका बासिन्दाले आन्दोलनलाई थप उग्रपार्दै लगेका छन् । विहिबार भीमसेन गाउँपालिकाको कार्यालयमा ताला लगाएका उनीहरुले शुक्रबार चक्काजाम र सवारी साधन तोडफोड समेत गरेका छन्।
आन्दोलनकारीहरुले आरुघाट तर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बर ट्याक्टरमा आगो लगाउने प्रयास गरेको र चालक लाई कुटपिट समेत गरेको घ्याम्पेशाल प्रहरी चौकीका हवल्दार दिपक तिमिल्सीनाले जानकारी दिए । त्यस्तै उनीहरुले आरुघाट तर्फ नै जाँदै गरेको ना १२ प ९० १० नम्बरको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।
मोटरसाइकल चालक एमजी विकलाई पनि आन्दोलनरत समुहले कुटपिट गरेर घाइते बनाएका छन् । कुटपिट पछि टाउकोमा चोट लागेका विकको घ्याम्पेशलकै मेडिकलमा उपचार भइरहेको छ । आन्दोलनकारीहरुले टायर बालेर र गोरखा आरुघाट सडक खण्ड समेत अबरुद्ध पारेका छन् ।
स्थानीय प्रेमचन्द्र श्रेष्ठ संयोजक रहेको संयुक्त संघर्ष समितिले बिहिबार दिउसो गाउँपालिका अध्यक्ष र कार्यकारी अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो । गत कार्तिक १९ गते गाउँपालिका को बैठकले बगुवामा रहेको गाउँपालिकाको केन्द्र तीन किलोमिटर परको घ्याम्पेशाल बजारमा सार्ने निर्णय गरेको थियो । साथै निर्णय समर्थन गर्न मन्त्रीपरिषदमा पत्राचार गरेको थियो ।
‘गाउँपालिकाले त्रुटीपूर्ण ढंगले केन्द्र सार्ने प्रक्रिया अघि बढाएको थाहा पायौं’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने ‘त्यसैको बिरोधमा हामीले ताला लगाएका हौं ।
हामीले सो प्रक्रियागत त्रुटीको छानबिन गर्न जिल्लाका सिडियो, एलडियो, एसपीसम्म पनि पत्राचार गरेका छौं ।’ गाउँपालिकाको केन्द्र सार्ने जस्तो महत्वपूर्ण बैठकमा बिना एजेण्डा बोलाएर निर्णय गराएकोप्रति उनले आपत्ति जनाए । ‘सामान्य बहुमतले केन्द्र सार्न पाउने ब्यबस्था त छ, तर त्यो दिनको निर्णय बिबादका बीच च्यातिएको थियो । च्यातिएको निर्णयपुस्तिका कसरी मन्त्रीपरिषदमा पेश भयो ?’ श्रेष्ठ प्रश्न गर्छन् ‘यदि अर्को निर्णय प्रतिलिपि पेश गरेको भए, त्यो किर्ते हुन्छ ।’ किर्ते कागजको आधारमा केन्द्र सार्न नदिने उनले बताए । तालाबन्दीका कारण गाउँपालिकाको काम प्रभावित भएको छ ।
सीमित स्वार्थ राखेको समूहले तालाबन्दी गर्दा गाउँका बासिन्दाको काम अवरोध भएको भन्दै गाउँपालिकाका प्रमुख इश्वर पाण्डेले ताला खुलाउने चेतावनी दिएका छन् ।
‘संविधानमा उल्लेख भएअनुसार हामीले बहुमतको आधारमा केन्द्र सार्ने निर्णय गरेका हौं’ पाण्डेले भने ‘यसको बिरोध गर्नु भनेको संबिधानको बिरोध गर्नु हो । यस्ता संबिधान बिरोधी हर्कत गर्नेहरुको दबाबको अर्थ छैन । हामी ताला खुलाउँछौं ।’ छलफलबाट ताला खुलाउने सहमति नभए राज्यले बल प्रयोग गरेर ताला खुलाउने उनले बताए । प्रक्रियागत त्रुटीको आरोप झुठा भएको उनको दाबी छ ।
किर्ते गरेको भए छानबीन गर्न खुल्ला रहेको भन्दै उनले किर्ते गरेको भए कारबाही भोग्न आफू तयार रहेको उनले बताए ।











प्रतिक्रिया