आगोलागीले ध्वस्त गाउँमा पुनःनिर्माण सुरु

0
Shares

अनिल खत्री, गुल्मी । आगोलागीबाट गाउँ नै ध्वस्त बनेको गुल्मीको वडागाउँको दजाकोटमा पुनःनिर्माण सुरु भएको छ । गएको ०७३ वैशाख १८ गते सामुदायिक वनबाट लागेको आगलागीबाट बडागाउँ स्थित दजाकोटमा रहेको सिङ्गो बस्ती नैजलेर नष्टभएको थियो । लागेको आगलागीमा परि क्षति भएका घरहरुको निर्माण कार्य भइरहेको छ ।

आगलागि भएको झण्डै २० महिनामा १८ घरको निर्माण कार्य सम्पन्न भइसकेको छ । आगलागिमा परेका ५८ घरहरुमध्ये १७ घर निर्माणधिन छन् , भने २३ घर बन्न बाँकि छन् । आगलागिमा परि गाउँका पुरै ५८ घर र बङ्गालो तथा पशुपंक्षि जलेर नष्ट भएका थिए ।

नष्ट भएका घरहरुलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरि घर निर्माण कार्य अगाडी बढाइएको छ । जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखि काम गरिएको स्थानिय युवा बिमल छन्तेलले जानकारी दिए ।
‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तिन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाउने छन्तेलले बताए । सबै पिडितहरुले भुक्तान भने तिन पटक गरी लिनुपर्नेछ । पहिलो पटक डिपिसि गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी सबै भुक्तान पाउने बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्तेलले जानकारी दिए ।
जिल्ला प्राविधिक कार्यलयले बनाएको भूकम्प प्रतिरोधि घरको नक्साको आधारमा अग्नीपिडितले घर बनाइरहेका छन् । प्रत्येक कामको नक्सा इन्जिनियरद्धारा पास भइसकेपछि साना किसान कृषि सहकारी सँस्थामा रहेको पिडितको खातामा रकम जम्मा हुने बताइएको छ । बाँकि रहेका २३ घरले भने यहि फागुन मसान्तभित्र डिपिसी गरेमा मात्र पहिलो किस्ताको रकम पाउने समितिले जनाएको छ ।

यसरी पिडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघ सस्थाँ, आमा समहूहद्धारा संकलन गरिएको राहात समितिले जनाएको छ । आगलागि भएलगत्तै जिल्ला प्रशासनले ५ हजार, जिल्ला विकास समितिले चर्पी निर्माणको लागि ५ हजार र पशु सेवा कार्यलयले गोठ निर्मणको लागि १० हजार रुपैँया उपलब्ध गराइएको थियो ।
मुसिकोट नगरपालिकाभित्र पर्ने वडा नम्बर ४ बडागाउँको पुननिर्माणका लागि यो आर्थिक बर्षमा नगरपालिकाले ३० लाख विनियोजन गरको छ । प्रत्येक पिडितले एक÷एक लाखका दरले प्राप्त गर्ने भएपनि यो बर्ष घर पुरै बनाएका ३० परिवारले मात्र रकम पाउने नगरप्रमुख सोमानाथ सापकोटाले बताए ।

बाँकि रहेका अन्य घरपरिवारले आगामी बर्षमा रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । आगलागीबाट ध्वस्तगाउँमा तुरुन्तै बिभिन्न संघ संथाले सामान्य बसोवासगर्ने गरि टहरा निर्माण गरिदिएका थिए । आगोलागीबाट घर तथा वंगाला जलेसँगै ३ सय ३१ परिवार प्रभावित भएका थिए ।

आगोलागीमा परि एक जनाको मृत्यु भएको थियो । आगोलागीमा परि ४ सय ९७ पशुपंक्षी जलेर नष्ट भएका थिए । आगोलागीमा परि भैंसी २६ वटा, बाख्रा ८४ वटा, गाइगोरु १५ वटा, बंगुर ५ वटा खरायो १ वटा, परेवा २ वटा र कुखुरा ३ सय ६ वटा आगोमा जलेर मरेका थिए ।