गाउँपालिकाको कार्यालयमा लगाइएको तालाबन्दी अझै खुलेन

0
Shares

राम धामी, डडेल्धुरा ।

गाँउपालिकाको केन्द्र सार्ने जनप्रतिनिधीहरुको निर्णयपछि गत बिहीबार देखि तालाबन्दी गरिएको नवदुर्गा गाँउपालिकाको कार्यालयमा सोमबार पनि ताला खुल्न सकेन ।

स्थानीयले हाल बगाल भन्ने स्थानमा रहेको कार्यालय सार्न नहुने भन्दै तालाबन्दी गरिएको बिषयमा सोमबार आन्दोलनरत स्थानीय र जनप्रतिनिधीहरु बीच सम्वाद मार्फत समस्या समाधान गर्ने तयारी थियो । छलफल गरेर समस्या समाधान गर्ने भनिए पनि गाँउपालिकाका अध्यक्ष कबिन्द्र बिष्ट र उपाध्यक्ष डम्बरी कोली छलफलमा सहभागी हुन नसके पछि छलफल निष्कर्षमा पुग्न नसकेकाले तालाबन्दी कायमै रहेको आन्दोलनरत स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा नवदुर्गा गाँउपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले आफु अकस्मात धनगढी आउनुपर्ने काम परेकाले छलफलमा सहभागी हुन नसकेको बताउनु भयो । उँहाले गाँउसभाबाट सबैको पायक पर्ने स्थान सफल्ला बामचौरमा गाँउपालिकाको केन्द्र राख्ने निर्णय गरेपछि हाल गाँउपालिका कार्यालय रहेको स्थानका केहि बासिन्दाहरुले बिरोध गरेर तालाबन्दी गरेकाले तालाबन्दी खोल्न आफुले पहल गर्ने बताउनु भयो । आन्दोलनरत स्थानीयले भने गाँउपालिका अध्यक्ष बिष्टले बहुमतको आँडमा जनभावना विपरित गाँउपालिकाको केन्द्रविन्दु सार्ने निर्णय गरेकाले बाध्यताबस आन्दोलनमा उत्रनु परेको बताउदै आएका छन् ।

डेढ महिना देखि डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकामा निर्वाचित जन प्रतिनिधीहरुले लगाएको तालाबन्दी अझै खुल्न सकेको छैन् । तालाबन्दी खुलाउन नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकले दिएको सुझावसमेत कार्यान्वयन भएन भने तालाबन्दी खोल्न जिल्लास्थित सबै राजनीतिक दलहरुले गरेको आग्रहलाई आन्दोलनरत पक्षले स्वीकार गरेको छैन् ।

अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले नगर सभाबाट बजेट तथा नीति र कार्यक्रमहरु पारित नगराई स्वैच्छिक शैलीमा काम गरेको, भवन आचारसंहिता विपरित नगरकार्यपालिकाको भवन निर्माण भइरहेकोमा नगर नेतृत्वले सच्याउन नचाहेको र नगर कार्यपालिकालाई निर्णय प्रकृयामा सहभागी नगराएकोलगायत बिभिन्न आरोप लगाउदै नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र नगर कार्यपालिका सदस्यहरुले नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले स्थानीय प्रशासन मार्फत बल प्रयोग गरेर तालाबन्दी खुलाउने प्रयास गरेपनि सफल हुन सकेन् । निर्वाचित वडाध्यक्षबाट नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुभन्दा पनि सम्वाद मार्फत समस्याको सामाधान गर्न जिल्लास्थित राजनीतिक दलहरुले आन्दोलनरत जन प्रतिनिधीहरुलाई आग्रह गरेका थिए । नगरपालिकाको नेतृत्वले पनि सबै जन प्रतिनिधीहरुसँग छलफल र सहकार्य गरेर अघि बढनुपर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधीहरुले सुझाएका थिए ।

तालाबन्दी खुलाउन नगरपालिकाले प्रयास गरिरहे पनि तालाबन्दी खुलाउन नसकिएको अमरगढी नगर कार्यापालिको कार्यालयले जनाएको छ । तालाबन्दी गरिएपछि नवदुर्गा गाँउपालिकाको सबै कामकाज ठप्प भएको छ भने अमरगढी नगरपालिकाले भने कार्यालय प्राङ्गणबाटै सेवाप्रवाह गरिरहेको छ । कहिदिन पहिले भागेश्वर गाँउपालिकाको कार्यालयमा समेत निर्वाचित वडाध्यक्षहरुले तालाबन्दी गरेका थिए ।

जन प्रतिनिधी आएपछि स्थानीय सरकारबाट थुप्रै काम हुने अपेक्षा गरेका सर्वसधारणहरु जन प्रतिनिधीहरुनै तालाबन्दीमा सकृय हुन थालेपछि दिक्क लागेको बताउछन् । स्थानीय निर्वाचनका बेला थुप्रै कामगर्ने आश्वासन दिएर विजयी भएका जन प्रतिनिधीहरु आम सर्वसधारण प्रति जवाफदेही र जिम्मेवार बन्न नसकेकाले आम नागरिकले सास्ती ब्यहोर्नु परिरहेको स्थानीय अगुवा हरिप्रसाद पनेरु बताउछन् ।