वडा अध्यक्षको पहलमा अपांगलाई घरमै नागरिकता !

0
Shares

सन्तोष अधिकारी, गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोटको कोटगाउँका अपांगभएका एकै परिवारका तीन जनाको घरमै नागरिकता बनेको छ । कयौँ पटकको सदरमुकाम लगेर छोरा छोरीको नागरिकता बनाउने प्रयास विफल भएको धन बहादुरको श्रेष्ठको सपना गत शुक्रबार घरैमा सफल भयो । वडा अध्यक्ष शरण श्रेष्ठको सक्रियातामा तुलसी मेहेर यूनेस्को क्लब र अक्सफामको साझेदारीमा उनीहरुको नागरिकता बनेको हो । धनबहादुरका छ सन्तान मध्ये तीन जना अपांग छन् । यि तीन जना खान, बस्न र सुत्न समेत परनिर्भर छन् ।
वडा अध्यक्ष श्रेष्ठको पहलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिृकतसहितको टोली शुक्रवार श्रेष्ठको घरमै पुगेर उनका छोराछोरीको नागरिकता बनाइदिए । ‘मैले धेरै पटक यिनीहरुको नागरिकता बनाउन बजार लैजान खोजेँ सकिन’ उनले नागरिकता बनेपछि खुसी साट्दै भने ‘नागरिकता नभएकै कारणले यिनीहरुले पाउने सेवा पनि पाएका थिएनन् । शरण बाबु, सिडियो साप र तुलसीमेयर अक्सफामलाई मेरो आशिर्वाद छ ।
दुखिलाई सहयोग गरिदिनु भयो ।’ २९ वर्षीया लीला श्रेष्ठ, २६ वर्षीया शीला श्रेष्ठ र १८ वर्षीय रावीव श्रेष्ठले नागरिकता पाएका हुन् । छोराछोरीको नागरिकता घरमै बनेपछि उनीहरुका परिवार दंग छन् । ‘छोरी २९ वर्ष पुग्दा पनि अहिले सम्म नागरिकता बनेको थिएन, बनाउनका लागि उनीहरुलाइ बोकेर सदरमुकाम लानुपर्नेे,’ श्रेष्ठले भने,’बोक्ने मान्छे कति खोजे तर नपाएपछि यिनीहरुको नागरिकता बनाउन पाइएन ।’ चुनाबी प्रचारमा जाँदा वडा अध्यक्ष निर्वाचित भएका शरण श्रेष्ठले आफुले उनीहरुको नागरिकता बनाउन पहल गर्ने बाचा गरेको सम्झिए । ‘मैले चुनाबको प्रचारमा जाँदा नागरिकता बनाउन पहल गर्छु भनेर बाचा गरेको थिएँ’ उनले भने ‘यस्तै सेवा गरौँला भनेर सामाजिक सेवामा लागेँ यो त्यस्कै एउटा खुड्कीलो हो । म जिल्ला प्रशासनका सबै कर्मचारी, सञ्चारकर्मी, तुलसी मेहेर यूनेस्को क्लब सँगै अक्सफामलाई पनि धन्यावाद दिन चाहन्छु ।’ जिल्ला प्रकाशनका कर्मचारीहरुलाई अक्सफाम सँगको साझेदारीमा तुलसी मेहेर यूनेस्को क्लबले आउने जाने सवारीको ब्यवस्था गरेको थियो । यस अघि पनि बिभिन्न ठाउँबाट सहयोग जुटाएर उक्त परिवारलाई नगद एक लाख रकम सहयोग गरिएको श्रेष्ठको भनाइ छ ।
अपांगहरुको नागरिकता बनाउन पुगेको प्रशासनको टोलीले दुई जना जेष्ठ नागरिकको पनि नागरिकता बनाएको छ । ७२ वर्षीय बिस्तारी गुरुङ र ७१ वर्षीय वीरबहादुर गुरुङले नागरिकता बनाएका हुन् । उनीहरुको पनि अहिले सम्म नागरिकता बनेको थिएन ।