इन्टेरिएर डिजाइन प्रदर्शनी सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
आईईसी कलेज अफ आर्ट एन्ड फेसनको सन् २०१५ का ब्याचका विद्यार्थीले इन्टेरिएर डिजाइन प्रदर्शनी आयोजना गरेका छन्। ‘डी आर्क इन्टेरियो स्किमा–७’ नाम दिइएको उक्त प्रदर्शनी विद्यार्थीको थेसिसको फाइनल प्रस्तुती दुई दिनसम्म चलेको थियो।

प्रदर्शनीमा उक्त ब्याचका २६ जना विद्यार्थीले बनाएका इन्टेरिएर डिजाइनका नमूना प्रदर्शनी गरिएको थियो। यस प्रस्तुतीबाट विद्यार्थीको स्नातकस्तरको अन्तिम मूल्यांकन भएको हो। शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गर्नुभएको प्रदर्शनीको समापन शनिबार नायिका श्वेता खड्काको प्रमुख तथा मिस नेपाल २००२ माल्भिका सुब्बाको विषेश आतिथ्यतामा सम्पन्न भएको हो।

प्रदर्शनी सम्बन्धित विश्वविद्यालयको प्रयोगात्मक परीक्षाको रूपमा रहेको थियो। प्रदर्शनीले इन्टेरिएर डिजाइनिङको महत्व अवलोकनकर्ता सामू पुर्याउने तथा विद्यार्थीको मेहेनतको बारेमा उद्यमी तथा ग्राहकले जानकारी पाउने बताइएको छ।

कार्यक्रमको समापन समारोहमा बोल्दै सुब्बाले पछिल्लो समय इन्टेरिएर डिजाइनको महत्व बढेको बताउनुभयो। उहाँले भन्न्ुभयो– ‘मानिसमा नयाँ नयाँ प्रयोग गर्ने बानीले यसको महत्व सबैमा बढेको हो। अझ सुन्दर घर निर्माण तथा यसको सजावट सबैको आकांक्षा हुन्छ। यसमा आईईसीले खेलेको भूमिका अतुलनीय छ।’

त्यस्तै इन्टेरियर डिजाइनको सिद्धान्त तथा अभ्यासका बारे जानकारी दिन मेलाले महत्पूर्ण भूमिका खेल्ने आयोजकमध्येकी एक निशा तुलाधरको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै तुलाधरले भन्नुभयो– ‘कलेजको सहयोगमा हामी यस किसिमको कार्यक्रम गर्न सफल भयौं। यसबाट हाम्रो मार्केटिङ हुने, यस्ता कार्यक्रम आयोजना गर्दा एक्स्पोजर बढ्ने तथा व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने गर्छ।’ यसबाट सबैको फिडब्याक पनि पाइने भएकाले कमजोरी सुधार्दै भविष्यमा आफ्नो पेशामा भिजेर लाग्न मद्दत पुग्ने उहाँको बुझाइ थियो।

प्रदर्शनीमा इन्टेरिएर डिजाइनका मोडल डिस्प्ले, प्रोडक्ट डिजाइन डिस्प्ले, पेपरवर्क, स्मार्ट फर्निचर डिस्प्ले, सांगितीक प्रस्तुति आकर्षणको केन्द्र रहेका थिए। प्रदर्शनीको मूख्य प्रायोजक पशुपति पेन्टस् रहेको थियो। सन् १९९७ मा स्थापना भएको आईईसी कलेज फेसन तथा इन्टेरिएर डिजाइन कलेज हो।