ओली–प्रचण्डको एउटै बोली “एमाले–माओवादीको एकतालाई कसैले बिथोल्न सक्दैन”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैले चाहेर पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण रोक्न नसक्ने बताउनुभएको छ। उहाँले वाम गठनन्धनलाई बिथोल्ने र अस्थिरता ल्याउने असफल प्रयास भइरहेको बताउँदै देश र जनताको चाहनाअनुसार नै एमाले माओवादीबीच पार्टी एकीकरण हुने बताउनुभएको हो।

शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाभियान’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनलाई बिथोल्न शक्तिको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने दाबी गर्नुभयो। ६ वटा प्रदेशमा वाम गठबन्धनले प्रदेश सरकार बनाउने उल्लेख गर्दै स्थानीय तहमा अधिकांश आफूहरूले जितेकाले अहिले काम गर्ने वातावरण रहेको बताउनुभयो। उहाँले अब राजनीतिक विषय टुंगिएकाले आर्थिक विकासले प्रमुखता पाउने बताउँदै भन्नुभयो– ‘अब अस्थिरतातर्फ लान खोज्ने शक्तिहरू असफल हुन्छन्, देश अगाडि बढ्छ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धिको अभियान शुरू गर्न नसके मुलुक फेरि पनि दुर्घटनामा पर्न सक्ने बताउनुभयो। उहाँले ऐतिहासिक चुनौती र अवसर दुवै वाम गठबन्धनको सरकारका अगाडि रहेको बताउँदै समृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साँच्चै एक दशकमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने दाबी गर्नुभयो। उहाँले पार्टी एकता हुने र एकता हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो।

प्रचण्डले सबैभन्दा धेरै मतले जित्ने अपेक्षा गरिएका वाम गठबन्धनका वामदेव गौतम पराजित हुँदा नमीठो लागेको बताउनुभयो। उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटन विकास र ऊर्जा विकासमार्फत देशको समृद्धि सम्भव रहेको बताउनुभयो।

लेखक उपाध्यक्ष वामदेव गौतमले आफूले एक दशक लगाएर तयार पारेको पुस्तकको मूल भाव नेपालमा प्रशस्त सम्भावना भए पनि विकासबाट पछाडि पर्नुका कारणसमेत खोतलिएको जानकारी गराउनुभयो। पुस्तकमाथि साहित्यकार मोदनाथ प्रश्रित, संविधानविद् डा. युवराज संग्रौला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, अर्थविद् डा. डिल्लीराज खनाललगायतले टिप्पणी गर्नुभएको थियो।