दाइ हारेपछि भाइद्वारा राजीनामा

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
पूर्वसहमतिअनुसार मंसिरसम्म चुनावका लागि लिएको जिम्मेवारीबाट गणेश थापा अलग हुनुभएको छ। उहाँले राप्रपा मकवानपुर सभापतिबाट शुक्रबार राजीनामा दिनुभएको हो।
पार्टी सभापति भएर आफ्ना दाइ राप्रपा अध्यक्ष कमल थापालाई निर्वाचन जिताउन नसकेको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको उहाँले बताउनुभयो। गणेश थापा स्थानीय चुनावपछि पार्टी जिल्ला अध्यक्ष बन्नुभएको थियो।

‘कमल थापाजस्तो राष्ट्रिय व्यक्तित्व चुनाव हार्नु भनेको मकवानपुरका लागि अत्यन्त दुर्भाग्यपूर्ण छ’, उहाँले भन्नुभयो– ‘नैतिकरूपमा पार्टी अध्यक्षबाट मैले राजीनामा दिए पनि पार्टी कार्यकर्ताको संरक्षणका निमित्त म सदैव तयार छु।’

निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने मतदाताप्रति आभार व्यक्त गर्नुभएका उहाँले आफ्नो राजीनामा आएकोप्रति कोही कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नुभएको छ।
प्रतिनिधिसभा मकवानपुर–१ मा राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई हराउँदै वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णप्रसाद दाहाल विजयी हुनुभएको छ।
दाहालले ४० हजार ६ सय ३१ मत पाउँदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याउनुभएको छ। अध्यक्ष थापाले एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग चुनावी भीडन्तमा तेस्रो पटक पराजय भोग्नुपरेको हो।

थापा र दाहालको यस पटकको चुनावी भीडन्त विभिन्न कारणले थप रोचक बन्न पुगेको थियो। यस पटक थापा राप्रपाका केन्द्रीय अध्यक्षमात्र नभएर सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ। यस अवस्थामा उहाँलाई हेबीवेट उम्मेदवारका रूपमा हेरिएको थियो।

थापाले आफूलाई ४५ वर्षे राजनीतिको उत्तराद्र्धमा रहेको भन्दै मत माग्नुभएको थियो। १० पटक मन्त्री भइसक्नुभएका थापाको प्रयत्न यस पटक भने सफल भएन। थापालाई राजनीतिक खेलाडीका रूपमा हेर्ने गरिन्छ। थापालाई दाहालले यसअघि भएका दुईवटा आमनिर्वाचनमा पराजित गर्नुभएको थियो। यो जितसँगै दाहालले मकवानपुरमा जितको ≈याट्रिक गर्नुभएको छ। उहाँले थापालाई २०४८ र २०५६ मा समेत पराजित गर्नुभएको थियो।