रोकिएन विप्लवको गतिविधि

0
Shares

खोटङ, (नेस)
निर्वाचन खारेजीको अभियानमा हिंसात्मक गतिविधिमा उत्रिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि त्यस्ता गतिविधिलाई निरन्तरता दिँदै भोजपुरको अरुण गाउँपालिका–१ का निर्वाचित वडाअध्यक्ष नगेन्द्र खत्रीमाथि सोही पार्टीले सांघातिक हमला गरेको छ।

गत शुक्रबार वडा कार्यालय जाने क्रममा बाटोमा ५ जनाको समूहले कम्मरमुनि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको घटनाको जिम्मा विज्ञप्तिमार्फत् विप्लव नेतृत्वको (नेकपा)ले लिएका छन्। हाल काठमाडांैस्थित पाटन अस्पतालमा उपचाररत अवस्थामा रहेका खत्रीमाथि भएको आक्रमणको जिम्मा बिहीबार उक्त पार्टीले लिएको हो।

नेपाल कम्युनिस्ट पार्टी भोजपुरका जिल्ला इन्चार्ज ज्ञानुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा खत्रीले पार्टी आस्थाका आधारमा योजना बाँडफाँड गरेको, नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सुराकी गरेको र जनपक्षीय काम नगरेका कारण सुधार्नका लागि चेतवनीस्वरुप भौतिक कारबाही गरेको उल्लेख छ। तत्कालै, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जीयर थारुलाई घटनाका विषयमा बुझ्दा घटना सामान्य रहेको प्रतिक्रिया दिनुभएको थियो।