भन्सारमा अवैध काण्ड, मालधनी र एजेन्टको फन्दामा भारतीय ट्रक र चालक

0
Shares

कुमार श्रेष्ठ, बाँके
कात्तिक ११ गते साँझ नेपालगन्ज भन्सारमा राजस्व नै नतिरेर मालवाहक भारतीय नम्बर प्लेटको ट्रक पास भयो। मालधनी र भन्सार एजेन्टले ‘सेटिङ’ मिलाएर पास गरेको ट्रकलाई चौलिक्कामा संघीय प्रहरी एकाई कार्यालयका प्रहरीले नियन्त्रणमा लिएपछि खैलाबैला मच्चियो।

मालवाहक ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो। राजस्वले मंसिर ११ गते २४ लाख २९ हजार ६ सय जरिवाना, एक महिना कैद र ट्रक जफतको निर्णय गर्यो। ११ हजार २ सय (भारु) मा भाडामा आएको भारतीय ट्रक जफत भएको छ भने दैनिक ३ सय रुपियाँ ज्यालादारी पाउने चालक यतिबेला जेलमा छन्।

उक्त ट्रक भारतबाट थपलिया इन्टरप्राइजेज र दुर्गेश इलेक्ट्रोनिक्स एन्ड जनरल अर्डर सप्लायर्सको मेसिनरी सामान बोकेर नेपाल आएको थियो। सामान किनेको ठाउँको बिलदेखि नेपाल प्र्रवेश गर्दासम्मको भारतीय सबै राजस्व कार्यालयहरूमा जाँच गर्दै आएको ट्रकलाई नेपालगन्ज भन्सारमा आइपुग्दा राजस्व ठग्ने नियतले थपलियाका प्रोपोराइटर रामबाबु र दुर्गेशका प्रोपराइटर पप्पु तेलीले भन्सारका दलाल जगदीशसँग मिलेर भन्सार नतिरी ट्रक पास गराएका थिए।

ट्रक जफत र चालक जेल परेको थाहा पाएपछि नेपालगन्ज आइपुगेका भारत कानपुर निवासी ट्रकका मालिक हंशकुमार गुप्ताका अनुसार, पहिलो पटक ट्रक लिएर नेपाल आएका चालक पाललाई रामबाबु, पप्पु, जगदीश, पप्पुका कर्मचारी अरविन्द र सोनुले भन्सारमा सबै प्रक्रिया मिलाएको भन्दै हातको इशाराले अगाडि बढ्न भनेपछि ट्रक भन्सार कटेको थियो। चौलिक्कामा संघीय प्रहरी एकाईका प्रहरीले ट्रकलाई रोकेपछि मालधनी र भन्सार एजेन्ट भागेका थिए।

‘दश लाख रुपियाँ लोनमा ट्रक किनेर भाडामा चलाउँदै आएको छु। ‘मालधनी र भन्सारका एजेन्टले राजस्व ठग्ने नियतले गर्दा हामीलाई फसाए’ –कानुनी प्रक्रियामा अगाडि बढ्न नेपालगन्ज आइपुगेका ट्रक मालिक गुप्ताले भन्नुभयो। ट्रक पक्राउ परेपछि यसअघि एकपटक गुप्ता नेपाल आएका थिए। मालधनी र भन्सार एजेन्टले ट्रक छुटाउनका लागि ५० हजार भारु जबरजस्ती लिएर आइन्दा नेपाल नआउन चेतावनी दिएको गुप्ताले बताउनुभयो। ट्रक मालिक नेपाल आउदा सबै पोल खुल्ने मालधनी र एजेन्टलाई डर थियो। ‘नेपाल आइस् भने ज्यानकै खतरा हुन्छ, भारतबाट फोनमा मात्रै कुरा गर्नु, मालधनी र एजेन्टले भनेका थिए’, गुप्ताले भन्नुभया– ‘पछिल्ला दिनमा उनीहरूले फोन उठाउन छोडेपछि म नेपाल आएको हुँ।’

भन्सारबाट राजस्व नतिरी मालवाहक ट्रक पास भएको घटनाले भन्सार विभागलाई समेत हल्लाएको थियो। भन्सार विभागका निर्देशक एवं प्रवक्ता शिव भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति नेपालगन्ज आएको थियो। समितिले भन्सारका तीन कर्मचारीको कमजोरी ठहर्याएर काठमाडौं तानेको थियो। कर अधिकृत सुभाष श्रेष्ठ, कमल खड्का र कार्यालय सहयोगी मंगल शाही कारबाहीको दायरामा परेका थिए। डेढ महिनाजति काठमाडौं बसेका भन्सार कर्मचारीहरू नेपालगन्ज फर्किसकेका छन्।

मालधनी, भन्सार एजेन्ट र कर्मचारीको मिलोमतोमा निर्दोष भारतीय ट्रक चालक जेलमा सडेका छन्। भारतीय ट्रक पनि जफत भएको छ। यो घटना बाहिर आएपछि केही दिन नेपालगन्ज भन्सारमा एजेन्टहरूले आन्दोलन गरेर कारबाही ठप्प पारेका थिए।

यसअघि कनिकाको भन्सार गरेर चामल ल्याएको काण्ड पनि फर्दाफास भएको थियो। कनिकाको भन्सार गरेर पास भएको ट्रक चौलिक्कामा पल्टिदा चामल फेला परेको थियो। भन्सारमा साना ऐन कानुन लाग्ने र ठूलाले मिलेमतोमा सामान पार गराउने गरेको स्रोतहरू बताउँछन्।