वर्षौंदेखि दूषित दूधको बिगबिगी

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
दूधको गुणस्तर परीक्षण गर्ने नाममा हात डुबाउने परम्परा नत्याग्दा सप्तरीको राजविराजमा वर्षौंदेखि दूषित दूधको बिक्री हुँदै आएको छ। पानीको मात्र निरीक्षण गर्ने नाममा हात डुबाउने परम्पराको विकल्प नखोजिँदा दूषित दूधको बिक्रीवितरण बढेको हो।

बालबच्चा, वृद्धवृद्धा र बिरामीले समेत प्रयोग गर्ने दूधमा हात डुबाएर फोहोर नगर्न आग्रह गर्दा ग्राहकहरू अटेर गर्न थालेपछि आफूहरूले समेत वास्ता गर्न छोडेको व्यापारी जिवछीदेवी यादवले बताइन्।

दूधमा पानीको मात्रा कम भए हातमा टाँसिएर बस्ने तथा पानीको मात्रा बढी भए बगेर जाने मान्यताका आधारमा यस्तो अवस्था आएको स्थानीय राजेश चौधरीले बताए।
यसै गरी, दूधको बिक्रीवितरणका लागि बजारका उचित व्यवस्थापन नभएको, दूधको मूल्य निर्धारण नहुँदा सस्तो दरमा दूध बिक्री गर्नुपर्ने वाध्यता रहेको भन्दै व्यापारीहरूले गुनासो गरे।
सदरमुकाम राजविराजलगायत आसपासका नगरपालिका तथा गाउँपालिकाका जमनुनी मधेपुरा, मलेठ, फर्सैठ, वोरिया, रञ्जितपुर, वरही विरपुर, वेल्ही, देउरी भरुवा, विसहरीया, सिम्रहा सिंगियौनलगायतका दर्जनौ स्थानबाट राजविराज हटियामा ल्याएर दूध बिक्रीवितरण गरिन्छ। प्रत्येक दिन करिब २ हजार लिटर दूध अशुद्ध भएरै बिक्रीवितरण हुने गरेको स्थानीय राजेश चौधरीले बताए।

वर्षौंदेखि चल्दै आएको दूध परीक्षणको परम्परागत प्रक्रिया नियन्त्रण र परिवर्तन गर्न स्थानीय नागरिकहरूले माग गरेका छन्।
हात डुबाएर दूध परीक्षण गर्ने परम्पराका विषयमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेशकुमार यादवले यसको हालसम्म ठोस पहल नभएको स्वीकार्दै विकल्प खोजिने बताए।