लागूपदार्थको सेवन गर्नेको संख्या बढ्दो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
मुलुकभर झण्डै एक लाख जनाले लागूऔषध सेवन गर्ने गरेको पछिल्लो एक तथ्यांकले देखाएको छ। गृहमन्त्रालयको तथ्यांकअनुसार ८६ हजार २ सय ४ जना पुरुष र ६ हजार ३ सय ३० जना महिलाले लागूऔषध सेवन गर्ने गरेका छन्।

सेवन गर्नेमध्ये ९३ प्रतिशत पुरुष र ७ प्रतिशत महिला छन्। लागूऔषध नियन्त्रणका लागि लागूऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका–२०७० बनेको गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘लागू औषध विशेषतः युवाहरूमा विकराल समस्या बन्दैआएको छ। सरकारले अवैध लागूपदार्थहरू बिक्रीवितरणमा पूर्ण कडाइ गरेको छ। अब हामी अवैध उत्पादन हुने क्षेत्रको पहिचान गर्ने सोचमा छौं। ’

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक ठूले राईले लागूऔषधमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रहरीमा दर्ता भएका सबै मुद्दालाई विश्लेषण गर्दा कुल मुद्दाको सात प्रतिशत मुद्दा लागूऔषधसँग जोडिएका हुन्छन्। यसको निराकरणका लागि सर्वप्रथमतः सचेतना फैल्याउन आवश्यक छ।’ ब्युरोले सबै जिल्लामा २ सय ५० जना प्रहरीलाई तोकेर लागूऔषध नियन्त्रण एकाइ गठन गरेको ब्युरो प्रमुख राईको भनाइ छ।

नार्कोनन नेपालका अध्यक्ष वसन्त कुँवरले लागूऔषधको ट्रान्जिट प्वाइन्ट नेपाल बन्न सक्ने भन्दै सरोकारवालाले सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। बौद्धिक व्यक्तिहरूसमेत लागूऔषधमा फस्ने गरेको भन्दै पाठ्यक्रममा लागूऔषध निराकरणका विषयहरू समावेश गर्नुपर्ने उहाँले बताउनुभयो।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा मात्र विभिन्न लागूऔषध कारोबारमा संलग्न २ सय २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यसरी पक्राउ पर्नेमा १२ जना विदेशी समेत छन्।

ब्युरोले काठमाडौंबाट ३७ जना र १ सय ७७ जना विभिन्न जिल्लाबाट पक्राउ गरेको डीआईजी राईले बताउनुभयो। नेपालमा पनि सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्नका लागि लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीसमेत नियन्त्रण गर्ने उद्देश्यले लागूऔषध नियन्त्रण ऐन २०३३ लागू भई कार्यान्वयनमा रहेको छ। यस ऐनको परिभाषाबमोजिम लागूऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार, नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकी दिएका अन्य पदार्थ सम्झनुपर्ने उल्लेख छ।