चीनले शहीद गंगालाल अस्पताललाई अत्याधुनिक उपकरण दिने

0
Shares

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई चीनको एक सरकारी अस्पतालले करिब ८० लाख रुपियाँ बराबरको अत्याधुनिक प्रविधिको टेलिमेडिसिन उपकरण उपहार दिने भएको छ ।
चीनको सांघाईस्थित सांघाई नम्बर १० पिपुल्स अस्पतालका कार्डियोलोजि डिपार्टमेन्ट प्रमुख प्रा. डा. सु यावै को नेतृत्वमा नेपाल भ्रमणमा रहेको विशेषज्ञ चिकित्सक टोलीसँगको द्विपक्षीय छलफलमा चिनियाँ पक्षले उक्त जानकारी दिएको हो । सकेसम्म छिटो नेपालमा उक्त उपकरण ल्याउन प्रयास गर्ने र नेपालबाट फर्किनेबित्तिकै आवश्यक प्रक्रिया थालिने डा. सुले बताउनुभयो ।
गंगालाल अस्पतालमा आज शुक्रबार भएको छलफलमा दुबै अस्पतालबीच भगिनी सम्बन्ध स्थापित गर्ने सहमति पनि भएको छ । भगिनी सम्बन्ध स्थापनासँगै दुबै पक्षबीच विशषेज्ञ चिकित्सक र नर्सहरुको आदानप्रदान एवम् सहयोग विस्तार हुने नेता डा. सु ले बताउनुभयो ।
चीनका पूर्व राष्ट्रपति च्याङ च मिनका निजी चिकित्सकको रुपमा काम गरिसकेको डा. सुले बैठकपछि प्रतिक्रिया दिँदै वार्षिक ६ देखि ८ जना नेपाली चिकित्सक र नर्सलाई सांघाई अस्पताल कै खर्चमा चीनमा तालिमको व्यवस्था गर्ने जानकारी दिनुभयो ।
चीनको मुटुरोगसम्बन्धी नवीनतम प्रयोग, मुटुरोग विशेषज्ञ उत्पादन र इलेकट्रोफिजियोलोजी मेडिसिनमा उक्त अस्पताल चीनको सर्वाेत्कृष्ट अस्पतालको रुपमा रहेको छ । चिकित्सा क्षेत्रमा उक्त अस्पताल चीनको राष्ट्रिय तालिम केन्द्रको रुपमा स्थापित छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कामु निर्देशक तथा कार्डियोलोजी विभागका प्रमुख डा. दिवाकर शर्माले चीनको अस्पतालसँग स्थापित हुने भगिनी सम्बन्धले जनशक्ति र प्राविधिक ज्ञान आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले अत्याधुनिक र उच्चप्रविधिको तालिमको लागि नेपाली स्वास्थ्यकर्मी चीन पठाउन सकिने बताउनुुभयो ।
चीनको चिकित्सा क्षेत्रमा प्रयोग भइरहेको प्रविधि उच्च र अत्याधुनिक रहेको भए पनि नेपालको मुटुरोगको उपचारको क्षेत्रमा गंगालाले पुर्याएको योगदानको चिनियाँ पक्षले उच्च प्रशंसा गरेको डा. शर्माले जानकारी दिनुभयो ।
साइनो नेपाल मिडिया सोसाइटीको निमन्त्रणामा चार दिवसीय नेपाल भ्रमणमा आएको चिनियाँ विशेषज्ञ टोलीलाई गंगालाल अस्पतालका आर्थिक प्रशासन प्रमुख विमलकुमार उप्रेतीले स्वागत गर्दै अस्पतालको जानकारीसहित विभिन्न कक्षहरुको अवलोकन भ्रमण गराउनुुभएको थियो ।
त्यसअघि चिनियाँ प्रतिनिधिमण्डलले कपन सरस्वतिनगरस्थित माण्डु एकेडेमीको भ्रमण गरि छात्रछात्रालाई चीनबाटै ल्याइएका शैक्षिक सामग्री वितरण गरेको थियो ।
“वान वेल्ट वान रोड, वाक इन्टु नेपाल” परियोजनाको श्रृंखलावद्ध कार्यक्रमअन्तर्गत् काठमाडौंँमा रहेको टोलीले बिहीबार आयोजित “स्वास्थ्य क्षेत्रमा नेपाल चीनबीचको आदानप्रदान र सहयोग” विषयक प्रवचन कार्यक्रममा भाग लिएको थियो । भ्रमणका क्रममा उक्त टोलीले दुुबै देशबीच स्वास्थ्य क्षेत्रमा गर्न सकिने आदानप्रदान र सहयोगको विषयमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख प्रा. डा. श्रीकृष्ण गिरीसँग उहाँकै कार्यकक्षमा भेटघाट गरेको थियो । प्रतिनिधिमण्डल भोलि शनिवार बिहान स्वदेश फर्किने छ ।